शान्त विद्रोही
~ राजकुमार बानियाँ ओछयानमा एक जना तालुचिन्डे बूढा बसेका छन् । धर्के लुंगीभन्दा माथि उनले केही लगाएका छैनन् । बगलमा किताब र पत्रपत्रिका छरपस्ट छन् । सेतो झूल एक छेउमा थन्किएको छ । घरी फोन त घरी हातेफोनले बोलाइरहेको छ । फोनमा होस् वा वरपरि धुइरिएका धुस्रेफुस्रे अनुहारहरुको समस्या पालैपालो ध्यानपूर्वक सुनिरहेका छन् । खासमा भूपू मन्त्री मात्र हुन्, भीमबहादुर तामाङ । काठमाडौँ, सीडीओ टोलको एउटा घर (कोठा भने पनि हुन्छ) मा छन् । आजीवन दीनदुःखीका माझ रहन रुचाउने तामाङका बारेमा अहिले पनि सहरमा थुप्रै गसिप चलिरहेका छन्– पहिलो राष्ट्रपतिमा उठाउन खोजिएका भीमबहादुर नआएपछि रामवरण यादवलाई चिट्ठा प¥यो । नेपाली काग्रेसले जनजाति नेता भएर होला, भीमबहादुरलाई त्यस्तो प्रस्ताव गरेको रहेछ । तर, उनले राष्ट्रपतिको ऐतिहासिक जिम्मेवारी सम्हाल्ने त के, सोच्नसमेत सकेनन् । भन्छन्, “मैले कहिल्यै पदको रहर गरिनँ । पदबाहिर रहँदा नै म स्वतन्त्रता अनुभव गर्छु ।” प्रोटोकल झेल्न सकस हुन्छ रे उनलाई । टेम्पो, माइक्रोबस अनि पैदल हिँड्दा सर्वसाधारणसित हाई–हेलो गर्नुमा जति मज्जा अरुमा उनले देखेका छैनन् । कतिसम्म भने, कार चढ...