साठी वर्षे ‘जेन्टलम्यान’
~ राजकुमार बानियाँ म कुनै साहित्यकार होइन । लेखपढमा रुचि राख्ने भएकाले लेखक या पाठक पक्कै हुँ । अखबारमा जागिरे भएकाले अन्तर्वार्ता लिइदिने व्यक्तिचित्र बनाइदिने या किताब समीक्षा छापिदिने फर्माइस थुप्रै आउँछन् । यस्तो फर्माइस पूरा गर्न त मुस्किल छ नै, टार्न पनि सकस छ । म आफूलाई अलि एकलकाँटे पनि ठान्छु । भीडमा मेरो खास रुचि छैन । भीडमा या एकान्तमा पनि चतुरहरुले ‘कन्डोम’ बनाइदिएको अनुभव छ । चर्चा यन्त्रमा खुम्चिनु महान् दुःख हो । कहिलेकाहीँ त लाग्छ भुरेटाकुरे लेखकहरुका बारेमा लेखेर मेरो यौवन सकिएको छ । भक्तपुरे मुकुन्द पोखरेललाई ‘साहित्यकार’ भन्न मलाई गाह्रो लाग्दैन । किनभने उनका कविता र निबन्धका दुई थान किताब मैले अद्योपान्त छिचोलेको छु । व्यक्तिगत रुपमा पनि पोखरेल मलाई ‘जेन्टलम्यान’ लाग्छ । त्यही विनम्रताका कारण होला मजस्तो अल्छीले पनि केही हरफ लेख्न लागॆको छु । नेपाली साहित्यमा कि महान् भन्ने भेटिन्छन् कि खत्तम भन्ने । तर म त्यसबीचको केही शब्द खोज्न चाहन्छु । मुकुन्द पोखरेल देवकोटा जस्ता भएनन् भूपिजस्ता बनेनन् या रिमालजस्ता बनेनन् भनेर आलोचना गर्नुको म कुनै...