साठी वर्षे ‘जेन्टलम्यान’
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
~ राजकुमार बानियाँ
म कुनै साहित्यकार होइन । लेखपढमा रुचि राख्ने भएकाले लेखक या पाठक पक्कै हुँ । अखबारमा जागिरे भएकाले अन्तर्वार्ता लिइदिने व्यक्तिचित्र बनाइदिने या किताब समीक्षा छापिदिने फर्माइस थुप्रै आउँछन् । यस्तो फर्माइस पूरा गर्न त मुस्किल छ नै, टार्न पनि सकस छ ।
म आफूलाई अलि एकलकाँटे पनि ठान्छु । भीडमा मेरो खास रुचि छैन । भीडमा या एकान्तमा पनि चतुरहरुले ‘कन्डोम’ बनाइदिएको अनुभव छ । चर्चा यन्त्रमा खुम्चिनु महान् दुःख हो । कहिलेकाहीँ त लाग्छ भुरेटाकुरे लेखकहरुका बारेमा लेखेर मेरो यौवन सकिएको छ ।
भक्तपुरे मुकुन्द पोखरेललाई ‘साहित्यकार’ भन्न मलाई गाह्रो लाग्दैन । किनभने उनका कविता र निबन्धका दुई थान किताब मैले अद्योपान्त छिचोलेको छु । व्यक्तिगत रुपमा पनि पोखरेल मलाई ‘जेन्टलम्यान’ लाग्छ । त्यही विनम्रताका कारण होला मजस्तो अल्छीले पनि केही हरफ लेख्न लागॆको छु ।
नेपाली साहित्यमा कि महान् भन्ने भेटिन्छन् कि खत्तम भन्ने । तर म त्यसबीचको केही शब्द खोज्न चाहन्छु । मुकुन्द पोखरेल देवकोटा जस्ता भएनन् भूपिजस्ता बनेनन् या रिमालजस्ता बनेनन् भनेर आलोचना गर्नुको म कुनै तुक देख्दिन ।
कवि आफैंमा सत्ता हो र त्यसले छन्दहरुबाट पनि मुक्ति खोज्नु स्वाभाविक छ । मुक्त हुनु नै कवि चरित्र हो भन्ने मलाई लाग्छ । कुनै कुरा नयाँ या मौलिक छैन भने त्यसलाई किन साहित्यकारको दर्जा दिने
मुकुन्द पोखरेलसँग सरल भाषामा गहकिला कुरा भन्ने शक्ति अवश्य छ । ‘कोमल मनका कठोर आवाजहरु’ निबन्ध संग्रहमा उनले महाकवि देवकोटाबारे लेखेका छन् । उनी केका लागि साहित्य समातिरहेका छन् भन्ने भूमिकामै छ ‘एउटा चिप्लेकिराले त आफू हिँडेको बाटोमा चम्किलो चाँदनी रेखा चिह्न छाड्छ । त्यसमा पनि चेतनशील प्राणीका रुपमा जन्मेर केही चिनो समाज र धरतीका लागि छाडेर जान चाहन्छु ।’
पोखरेलका निबन्धमा ज्ञान भनौं या सूचना प्रशस्त छन् । किनभने राजनीतिशास्त्र कूटनीति मा स्नातकोत्तर कानुनमा स्नातक कृषि विज्ञानमा डिप्लोमा र संस्कृत पूर्व मध्यमाको औपचारिक शिक्षा र सरकारी बैंक र वित्तीय संस्थामा साढे तीन दसक विताएकाले उनमा उनमा प्रशस्त अनुभव छ । ती अनुभवमात्र लेख्ने हो भने पनि उनले स्वतन्त्र प्राज्ञिक उचाइ लिन सक्छन् । र त्यो नेपाली साहित्यका निम्ति नयाँ मसी हुन सक्छ ।
हाम्रा लागि एउटा पाठशाला पनि हुन् पोखरेल । किनभने ५० नाघेपछि नै उनले उच्च शिक्षा लिएका छन् । अब को बुढो या को बालक उनसले बुढेसकालको लक्ष्मण रेखा नै मेटिदिएका छन् । एउटा निबन्धमा उनले श्रीकृष्णलाई आधुनिक कूटनीतिज्ञ घोषणा गरेका छन् । पाण्डव पक्षका महाभारतकालीन कूटनीतिज्ञ । यसमा उनले केही तर्क पनि गरेका छन् । माओको पिङपङ कूटनीति, जियाउल हकको कि्रकेट कूटनीति, बाजपेयीको बस कूटनीति, मेहेदी हसनको गजल कूटनीतिको चर्चा गरेका छन् । यति ज्ञान हाम्रा स्वनामधन्य निबन्धकारका रचनामा भेटिएला ।
महाभारत युद्ध सकिएपछि विजयको श्रेय लिन उछिनपाछिन भयो । अर्जुनको गाण्डीव धनुको चमत्कार हो या भीमसेनको गदाले जित्यो कृष्ण ‘आई बिटनेस’ एकलब्यमार्फत फैसला गरिदिन्छन् ‘सबैतिर सुदर्शन चक्र चलिरहेको र द्रौपदीले खपरु थापेर रगत पिइरहेको देखेँ ।’
‘अन्तद्र्वन्द्वका ज्वारभाटा’ ३७ थान कविताको सँगालो हो । पोखरेलले यसमा कविता बन्न सक्यो कि सकेन भनेर एउटा विनयशीलता देखाएका छन् । यति भन्न सक्ने सामथ्र्य कति कविमा होला यसरी हायलकायल हुन म त सक्दिन बरु अभिमानी नै भनून् । उनका निबन्धबारे प्राध्यापक गोपीकृष्ण शर्मा जयराज आचार्य आदिले चर्चा गरेका छन् भने कविताबारे ईश्वरवल्लभ राजेन्द्र सुवेदी माजुल दैवज्ञराज न्यौपाने चंकी श्रेष्ठ आदिले धेरथोर लेखेका छन् ।
दुइटा किताबमध्ये निबन्ध उनकै धर्मपत्नी रमा र कविता भक्तपुर साहित्य प्रतिष्ठानले छापेका रहेछन् । आखिर जसको नाम भए पनि खर्च त लेखकले नै गर्ने हो । सहरका बहुराष्ट्रिय कम्पनीका विज्ञापन टाँग्ने होर्डिङ बोर्डमा कर्पोरेट साहित्य चढिसकेका बेला मुकुन्द पोखरेल कविहरुलाई केही प्रति बाँडेरै आत्मतुष्टि लिइरहेका छन् । उनी फेरि तेस्रो किताबको तरखरमा छन् ।
खासमा साहित्यमण्डलीको सम्पर्कमा पोखरेल जागिरे जीवनको अवकाशपछि आएका हुन् । व्यस्त जीवनमा लेख्न नसकेको खिन्नतालाई बिस्रन । त्यसैले त चंकी श्रेष्ठ ईश्वर बुढाथोकीजस्ता सज्जनहरुको धाप उनले कहिल्यै बिस्रँदैनन् । आर्थिक उपलब्धिभन्दा पनि ज्ञानगुन उनको बाटो हो ।
बगैँचामा मात्र फूल फुल्दैनन् । कतिपय वनफूल स्याहारविनै फुलिरहेका हुन्छन् । सकि्रय साहित्य यात्रामा ढिलो आइपुगेकाले होला तेल र साबुनको जमानाका मुकुन्द पोखरेल साहित्य मण्डलीमा भिडिरहेका छन् । उनको एउटा प्रीतिकर भनाइ छ ‘अप डेट हुन नसके आउट डेट भइन्छ ।’
जीवनको लक्ष्य मृत्यु कुर्नु होइन कविताको लक्ष्य पुरस्कृत हुनु पनि होइन यो भाष्य भक्तपुर सिरुटारका ६० वर्षे मुकुन्द पोखरेललाई थाहा छ । पत्नी रमाको दुइपटक हृदयघात अनि दुई छोराको आप्रवासी जीवन झेलेका पोखरेलको कवि मनमा केही चोट त पक्कै होलान् । कतिपय आला चोटपटक बिस्रन साहित्य संगीत मदिरा जुवा आदि बाटो बन्छन् । पोखरेलका लागि भयो ‘ शब्दम् शरणम् गच्छामी ।’
पोखरेल एउटा वकिल हुन् । तर कालो कोट लगाउने शोख भएन । मुद्दामामिलाको झमेलामा पनि पर्न चाहेनन् । उनी मुद्दा लड्न उक्साउँदैनन् । बरु मेलमिलापका निम्ति प्रेरित गर्छन् । फेरि मुद्दा मामिला दाजुभाइ छरछिमेकीबीच न हुने हो । त्यसमा फस्नु कविका निम्ति औडाहा हुनपर्ने हो । कवि युद्धप्रसाद मिश्रका गाउँले हुनुको नातामा उनले सालिक र स्मृति भवन निर्माणमा पनि नेतृत्व लिएका रहेछन् ।
कविता शैली हो कि विचार हो कविता यथार्थ हो कि कल्पना हो यस्ता तथाकथित प्रश्नको पछाडि लागेर अब केही हुनेवाला छैन । कविताका नयाँ नयाँ अवतार प्रकट भइरहेका छन् । ईश्वरवल्लभले नै ‘रहस्य-प्रकृतिवादी कवि’ भनिसकेका मुकुन्द पोखरेलले पनि अब कवि हुँ कि होइन भन्ने दुबिधा लिन आवश्यक छैन । र, राइट विङ र लेफ्ट विङमा बाँडिन जरुरी छैन । बस् ‘हेड विङ’ बनेर देखाए हुन्छ ।
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप

टिप्पणियाँ
एक टिप्पणी भेजें