धरावासीको रुवाबासी
पाठकहरूलाई भनिदिऊँ, लेखपढ नै मेरो अम्मल हो । पढेका कुरा भने स्मरणमा खासै रहँदैनन् । कसै कसैले हरफका हरफ सुनाएको देख्दा उदेक लाग्छ ।
त्यसो त मैले रहरले पढेका पुस्तक एकदमै थोरै छन् । यस्तो लाग्छ– म धेरैजसो करले पढ्दो रहेछु । मेरो रुचि अलि फरक छ । अप्ठ्यारो खालको छु । कतिपयलाई ‘योग्य पाठक’ नलाग्न पनि सक्छ ।
‘मोटिभेसनल’ पुस्तक छिचोल्ने अठोट गर्दिन । पछिल्ला समय चर्चित र पुरस्कृत थुप्रै पुस्तक पढेको छैन । जस्तो : अन्तर्मनको यात्रा, जीवन काँडा कि फूल, सोच, खोज आदि । यी पुस्तक पढ्दै नपढ्ने मेरो प्रतीज्ञा भने गरेको छैन ।
अहिले बजारमा नयनराज पाण्डेको ‘लू’ र गौरा प्रसाईंको ‘मेरो जीवनका पाना’ को मौसम छ । यी पुस्तक पनि मैले पढेको छैन । कुनै समय पढिएला पनि ।
चार दिनको अन्तरालमा अक्षर क्रिएसन्सकी अर्चना थापाले मेरा नाममा दुई थान पुस्तक खामबन्दी गरी पठाइन् । पुस्तक रहेछ– ‘पाण्डुलिपि’ । कृष्ण धरावासीको बीसौं पुस्तक ।
पहिलोपटक पठाएको पुस्तक मेरो हाता परेन । त्यसको सूचना पाएलगत्तै अर्को आइपुग्यो । पछि दुवै हाता लाग्यो ।
अब दुवै थान पुस्तक त मैले कसरी पढ्नु ? त्यो एक थान पढ्ने तारतम्य कसरी मिलाएँ, आफैंलाई अचम्म लागेको छ । त्यतिखेर म एउटा गजबको स्मृति ग्रन्थमा फँसेको थिएँ । त्यसले एकप्रकारले बाँधेर राख्यो ।
निधनको ३८ वर्षपछि सर्पदंश (उपन्यास) र नैनी (महाकाव्य) का लेखक तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ प्रकाशन भएको रहेछ । धेरै पाठकहरू विश्वेश्वरप्रसाद कोइरालाका प्रशंसक छन् । मलाईचाहिँ तारिणीको प्रशंसक भन्न पटक्कै संकोच लाग्दैन ।
साहित्य र राजनीतिका ‘द अननोन सोल्जर’ तारिणीका रसमय पाटामा रमाउँदारमाउँदै ‘पाण्डुलिपि’ का पानामा पुगिएछ । नागरिकको साहित्यिक पृष्ठ ‘अक्षर’ मा धोतीबाट कुर्ता–सुरुवाल भन्ने एक पाठ पढ्दा लागेको थियो– यो पुस्तक पक्कै पठनीय हुन सक्छ ।
अखबारमा काम गर्ने भएकाले होला, म धेरै जोल्टिन परेका वाक्य पढ्न सक्दिन । धेरै प्रयोग या बांगोटिंगो भाषा र शैलीका पुस्तक पढ्ने ल्याकत मैले गुमाइसकेको छु । मलाई सरल र सजिलो पुस्तक प्रिय लाग्छ ।
पछिल्लो छिमलका लेखकहरूका निम्ति कृष्ण धरावासी ‘रोलमोडल’ या ‘ट्रेन्ड सेटर’ भइसकेका छन् । झोला (कथासंग्रह), राधा (उपन्यास) का आधारमा मलाई पनि पठनीय लेखक नै लाग्छन् । उनको प्रशंसकको दाबी भने गर्दिन ।
नेपालको सन्दर्भमा समाजवादी–जनवादी भन्न मिल्ने लेखक पनि उनै हुन् । सामाजिक रीतितिथिमा अहिंसात्मक विद्रोह गर्ने र सुधार बसाल्ने चाहना उनमा छ । थुप्रै सामाजिक विषयवस्तुलाई पुस्तकमा समेट्दै आएका छन् ।
धरावासीको यो पुस्तक मेरा निम्ति अप्रत्यासित छ । मैले त उनको जर्मनीतिरको उपन्यास ‘गेस्टापो’ आउला भन्ने सोचेको थिएँ । उनले पत्नी शोकमा एउटा आख्यान नै लेखेछन् र ३ सय ५८ पृष्ठको पुस्तक छाप्ने हतारो गरिहालेछन् । अक्षर क्रिएसन्सले यसलाई ‘आत्मपरक उपन्यास’ भनेको रहेछ । वास्तवमा यो धरावासीको ‘आधा बाटो’कै सिक्वेल हो । यहाँ मैले सकभर शालीन शब्दमै सानो प्रतिक्रिया लेखेको छु ।
‘आमा र पत्नी’ को अन्तरंग सम्बन्धबाट नगुज्रने कमै पुरुष छन् । यिनै गहिरा सम्बन्ध वरिपरि जीवन बित्छ सर्लक्कै । कृष्ण धरावासीले नेपाली साहित्यमा गरेको कुनै नौलो काम छ भने, त्यो आमा र पत्नीलाई पात्रका रुपमा उभ्याउनु नै हो । त्यसो त धरावासी आफैं पनि पात्रका रुपमा आएका छन् । यी पात्र अमर हुन सके कि सकेनन् भन्ने विमर्श कुनै दिन होला ।
२०४८ सालमै उनले निबन्ध लेखेका थिए, ‘नारीभित्र त्यस्तो के छ हजुर ?’ त्यसका रहस्य न उनले बुझेका छन्, न अरुले । तैपनि नारी, बालबालिका र बुढाबुढीबारे लेख्ने क्रम उनले रोकेका छैनन् ।
धरावासीले आफ्नै जीवनका बारेमा प्रशस्त लेखिसकेका छन् । अरुभन्दा पनि फरक के भने, दिवगंत पत्नीलाई पनि लेखकै बनाइदिएका छन् । मृत्युशैयामा रहँदा उनकी पत्नी सीता भट्टराईको ‘मैले हिँडेको बाटो’ पनि प्रकाशनमा आएको थियो ।
वियोगमा हामी नराम्ररी बिथोलिन्छौं, मौन हुन्छौं र सिथिल हुन्छौं । धरावासी चाहिँ नलेखी बस्नै सक्दैनन् । यसरी लेख्छन्, आफू रुन्छन्, पाठकलाई पनि धरधरी रुवाइदिन्छन् । रुवाउनु नै सफलताको मानक हो भने नेपाली साहित्यमा यत्तिको उचाइ आजसम्म कुनै लेखकले लिएको छैन । धरावासीको खास चिनारी रुवाबासीबाटै हुन्छ ।
अस्पताल धाउँदाधाउँदै उनकी पत्नी ‘सीताजी’लाई कलेजोसम्म फैलिएको ठूलो आन्द्राको क्यान्सर चौथो चरणमा पुगिसकेको थाहा पाउँदा पाठक बडो भावुक र संवेदनशील हुन्छ । त्यसपछि आँखा रसिला हुन्छन्, नाक रसाउन थाल्छन्, घाँटीको मांसपेसी फुल्छ । सासै फेर्न गाह्रो । उकुसमुकुस मात्र ।
अझ पृष्ठ २१६ मा पुगेपछि धरावासी लेख्छन्, ‘मलाई थाहा थियो, म सीताजीलाई के खुवाउन लागेको छु । मर्फिनको काम के हो र त्यसले के गर्छ भन्ने राम्ररी बुझेको मैले आज आफ्नै हातले सीताजीलाई खुवाउँदै थिएँ । मेरी प्रिय पत्नी सीताजी, जसको अन्तिम विश्वास थिएँ म । मैले जे भने पनि, जे खुवाए पनि उहाँलाई ढुक्क थियो । तर, आज म पहिलो पल्ट उहाँलाई मर्फिन खुवाइरहेको थिएँ, जसले उहाँलाई लट्ठयाउने थियो । त्यो औषधि थिएन, त्यसले शरीरका अरु बाँकी र स्वस्थ अंगहरूलाई पनि प्रतिदिन शिथिल गर्दै लाने थियो ।’
सिंगो पुस्तकमा धरावासीकै एकालाप छ । क्यान्सरपीडित उनकी पत्नीलाई यसको जनाउसम्म दिइएको छैन । यहाँनेर उनले ईश्वरवल्लभलाई सम्झेका छन्, ‘मानिसलाई यदि उसको मृत्युको समय थाहा हुने भए ऊ त्योभन्दा पहिले नै मरिसक्छ ।’
पुस्तकमा मृत्युको कारुणिक चित्र छ । धरावासीले पाठकलाई हरेक पानामा रुवाएका छन् । एकान्त छाडेर सार्वजनिक रुपमा रुने साहस उनले गरेका छन् । लेखकको आँसुले पाठकलाई अति सकस हुन्छ । अविरल रुवाइका कारण धेरै पाठक अन्तिम पानासम्म नपुग्ने सम्भावना छ ।
म राम्रा अंश चिना लगाएर पढ्छु । तर, मैले यो पुस्तक दोहो¥याएर पढ्न सकिनँ । फेरि रुनु पर्ला भनेर कुनै कष्ट गरिएन । वेदना हल्का गर्न रुनुको बेग्लै मिठास छ । तर धरावासीले रुनुको सौन्दर्य नै मिचिदिएका छन् ।
अब नलेख्नोस्, आँसुका कथाहरू । कति लेख्नुहुन्छ निजी कुरा ? यस्ता सुझाव धरावासीलाई थाहै छ । पुस्तकमै छ, ‘अब नलेख्नुप¥यो निजी जीवन । धेरै लेखेँ जीवन भोगाइका पीडा, अब अलि बुद्धि लेख्नुप¥यो, अलि ज्ञान लेख्नुप¥यो । मनले समात्ने गरेको भावुकताबाट मुक्त हुनुप¥यो ।’
धरावासीले केही लीलाहरू पनि गरेका छन्, पुस्तकमा । उत्तर आधुनिकता पनि भन्लान् कतिपय । पत्नीको रेडियोमा अन्तर्वार्ता लिन लगाउने, भिडियो खिच्ने । प्रियजनको सम्झाउने, बिर्साउने राख्नु ठीकै पनि होला । पाठकलाई त ती पानामा अडिन पनि सकस हुन्छ ।
नेपाली साहित्यमा शोकाकुल अवस्थामा धेरै कवि, लेखकले पुस्तक तयार गरेका छन् । धरावासीको कसरतचाहिँ ‘गौरी’ लाई पनि उछिन्ने खालको छ । धरावासीलाई गुरु थापेर अरुले पनि यसैगरी लेख्न थाले भने थुप्रै झुर गौरी आउन सक्छन् ।
पाण्डुलिपि अनावश्यक रुपमा मोटो पनि छ । धरावासीको आत्मालाप त ठीकै थियो । विभिन्न पत्रपत्रिकामा छापिएका डा. केदारनरसिंह केसी, अमरकुमार प्रधान, हरिवंश आचार्य, स्वयं धरावासीका लेख पनि पुस्तकभित्रै कन्टेन्ट भएर आराम गरिरहेका छन् । पत्रपत्रिकामा आइसकेका सामग्री पुस्तकमा हुबहु छापेर बेच्ने ‘कर्पोरेट’ शैलीले विस्तारै नेपाली साहित्यलाई कुरुप बनाउँदो छ ।
शोकलाई त कसरी सम्पादन गर्ने ? जे होस्, शब्द सम्पादन गरिएको भए पुस्तक निकै सानो आकारमा आउन सक्थ्यो । पत्नीशोकमा रहेका लेखकलाई पाठकहरूले यति छुट त देलान् । तर, अघिल्ला पुस्तकमै आएका धेरै कुरा दोहोरिएकाले धरावासीले अब लेख्न छाडेर पढ्ने बेला भएजस्तो लाग्छ ।
धेरै पुस्तकहरू निरन्तरताका निम्ति निरन्तरताजस्तो मात्र लाग्छ । धरावासीजस्तो प्रतिष्ठित लेखकलाई थप के सुझाव दिनु ? लेखकले ठूला कुराभन्दा नयाँ कुरा नयाँ नयाँ तरिकाले लेख्ने हो । दोहो¥याउनुको कुनै माने छैन । धरावासी भावनामा मात्रै बहकिएका छन् । बौद्धिक रुपमा उभिने कोसिस गरेका छैनन् ।
मानिसहरू रुने वैध इलाका अस्पताल अनि घाट हुन् । प्रत्येक मानिसले अस्पताल र घाट पुगेर जीवनलाई नजिकबाट नियाल्न सक्छन् । अब पुस्तकप्रेमीलाई रुने ठाउँ धरावासीले हातमै दिएका छन् । कठोरभन्दा कठोर मानिसहरू पनि रुने ठाउँ छ, ‘पाण्डुलिपि’मा ।"

टिप्पणियाँ
एक टिप्पणी भेजें