सेन्ट सोल्जर

एक जमानाका 'किङ् अफ ट्रान्सपोर्ट’ 

~ राजकुमार बानियाँ

श्री पेचजस्तो पगडी, लामो दाह्रीजुँगा अनि हातमा बाला। शिखको परिचित हुलिया यत्ति हो। गुरुद्वारा गुरुनानक सत्संग कुपन्डोलका अध्यक्ष सरदार प्रीतम सिंह, ७८, भने यति सानो क्यानभासमा अटाउँदैनन्। उनी हुन् एक समय नेपालका 'किङ् अफ ट्रान्सपोर्ट'।खासमा त प्रीतम पाइलट रहेछन्। त्यसैले २१ अपि्रल सन् १९५४ मा फ्लाइङ् क्लब लखनउबाट जारी प्राइभेट पाइलट्स सर्टिफिकेट जतनसाथ राखेका छन्। तालिमका क्रममा उनले पाइपर कब, डेकोटा र टाइगर मोथ जहाज उडाए पनि। त्यो किमती प्यासेन्जर क्यारङि् लाइसेन्स प्रीतमकी आमाले भने मन पराइनन्। उनी पनि आमाको आदेशबाहिर गएनन्। पुख्र्यौली पेशामा आफ्नो प्रवेश खोतल्छन्, "मेरो प्यासन सैनिक बर्दी हो। एयरफोर्स ठानेर पाइलट कोर्स गरेँ, अन्तिममा आएर बाबुकै बिँडो समाएँ।" जम्मु कश्मीरमा पहिलोपटक ट्रान्सपोर्टमा हात हाल्ने पनि उनकै बाबु काआन सिंह रहेछन्।

सीमावर्ती सहर लखनउमा एउटा विवाहमा आउँदा प्रीतमले सुनेछन्, भारतीय सेनाले नेपालमा सडक खोल्न लागेको अनि मालवाहक गाडी नभएको। व्यवसायी बाबुलाई लिएर नेपाल रवाना भएछन्, सन् १९५६ मा। त्यही बेला न्युरोडमा भेटेछन्, लखनउमा सँगै पाइलट कोर्स गरेका त्रिलोचन सिंह अर्थात् राजा महेन्द्रका पाइलट। उनैले ट्रान्सपोर्टको काम गर्न सुझाएछन्।

नभन्दै सरदार दाजुभाइ तीनवटा गाडी लिएर आए, सन् १९५८ को जनवरीमा। रक्सौलसम्म सडक थिएन। रेलको बाटो धकेल्नुपर्‍यो गाडी। दुइटा डुंगामा बाँधेर नदी पार गराउनुपर्‍यो। अमलेखगन्जदेखि काठमाडौँसम्मको सय किलोमिटर दूरीमै एक साता बित्यो। तिनताक काठमाडौँमा 'कमर्सियल' सवारी साधन थिएनन्। राजा, राणाका एकाध निजी सवारी मात्र। त्यतिखेर जहाँ भेटिने गाडी पनि एनपीएमएस अर्थात् नेपाल पब्लिक मोटर सर्भिसकै हुन्थे । ट्रकले नै गर्‍यो, बसको काम। सिटको व्यवस्था त पछि मात्र भएको हो। यसरी नेपालमा सार्वजनिक यातायातको विधिवत् सुरुआत गरे उनले।

सरदार प्रीतम सिंहले अन्य कम्पनी पनि खोले, नेपाल दर्शन बस सर्भिस, लोकभक्त बस सर्भिस, इन्डो नेपाल रोडवेज, मनकामना बस सर्भिस र हेमकुन्ड ट्रान्सपोर्ट कम्पनी। त्रिभुवन राजपथ त भइगयो। सुनौली-पोखरा, धनगढी-नेपालगन्ज, नारायणगढ-मुगलिन, काठमाडौँ-पोखरा, वीरगन्ज-बुटवल सबै सडकमा पहिलोचोटि यात्रु बोक्ने गाडी उनकै हुन्। झन्डै चार सय गाडी रहेछन्, कम्पनीमातहत। ड्राइभर, बडी बिल्डर्स, पेन्टर, इलेक्टि्रसियनलगायत मिस्त्री भारतबाटै ल्याए उनले।

तिनताका पहाडी घुम्ती बाटोमा थुप्रै गाडी अड्किए। कैयौँ सरदारजी बेपत्ता भए। त्यतिखेर गाडीसहित खसेर आफ्ना कति मान्छेको ज्यान गयो भन्ने उनलाई यकिन छैन। काठमाडौँमा बिजुली थिएन। ड्रममा राखेर डिजेल, पेट्रोल ल्याएको सम्झना छ उनलाई। राजाको सवारीमा होस् वा नेपाली सेनाका निम्ति गाडी उनकै तजबिजी रह्यो। खाद्य संस्थान, आयल निगम, साल्ट ट्रेडिङ्, नेसनल ट्रेडिङ्को ढुवानी ठेक्कामा उनकै एकछत्र। कतिसम्म भने भारत सरकारको सहयोगमा निर्मित त्रिशूली-देवीघाट जलविद्युत् आयोजनाको सामान ढुवानी पनि उनकै थाप्लोमा आइपर्‍यो।

बिस्तारै नेपालीको प्रवेश भयो, यातायात क्षेत्रमा। ड्राइभर, कन्डक्टर, खलासीको तालिम दिने मात्र होइन, गाडीसमेत निकालिदिए उनले। सन् १९९५ सम्म उनको उपस्थिति पातलिँदै गयो। उनका छोराले नै उत्तराधिकार समाएनन्। बरू गार्मेन्ट व्यवसाय सुरु गरे। ढुवानी वादशाह स्वयंचाहिँ स्कुलतिर 'सिफ्ट' भए। उनी मोर्डन इन्डियन स्कुलका संस्थापक हुन्। उनकै रेखदेखमा चलेको छ स्कुल। भन्छन्, "ट्रान्सपोर्ट सजिलो काम होइन। अहिले गाडी लाइनमा एकतिहाइ त मैले सघाएकाहरू नै छन्।"

अहिले उनी मात्र किन ? नेपालीलाई राजमार्गमा जीवनरेखा देखाउने सरदारजीहरू नै गाडी लाइनमा भेटिँदैैनन्। भिटामिन एम (मनी) पुगेर प्रीतमले पुरानो काम छाडेका भने होइनन्। एकातिर आफ्नो ढल्कँदो उमेर, अर्कातिर भरपर्दो साथीको समस्या। सुनाउँछन्, "मेरो समयमा ३० हजार ९ सय ५ रुपियाँमा गाडी आउँथ्यो। अहिले ४० लाखमा पनि आउँदैन।" सरदारजीहरूको पलायनको कारण उनलाई थाहा छ। एक, उनीहरूले नागरकिता पाएनन्। दुई, जग्गाजमिन किनेर थातबास बसाउने स्थिति रहेन। तीन, माओवादी सशस्त्र विद्रोह सुरु भयो। भन्छन्, "पहिले नागरकिताका कारण जग्गा किन्न सकेनन्। अहिले नागरकिता भए पनि किन्न सकिँदैन।"

उपत्यकाभित्र होस् या बाहिर, जति पनि गुरुद्वारा छन्, ती सबै प्रीतमकै सिर्जना हुन्। आफ्नो व्यवसायका दौरान वीरगन्ज, नेपालगन्ज, धनगढी र बुटवलमा उनले गुरुद्वारा ठड्याइदिएका छन्। त्यसैले त उनी गुरुद्वाराका 'लाइफ टाइम' अध्यक्ष छन्। काठमाडौँसँग भावनात्मक सम्बन्ध छ, शिख समुदायको। एउटा प्रसंग छ, शिख आदिगुरु नानक देवका बारेमा। धार्मिक यात्रामा काठमाडौँ आएका बेला उनले राजा जयजगत् मल्लका पागल छोरालाई ठीक गरिदिएछन्। त्यसपछि राजाले नानकका नाममा १ हजार ६ सय रोपनी जग्गा दिएछन्, बालाजु, म्हैपी क्षेत्रमा। त्यो जग्गा स्थानीयले कब्जा गर्दै जाँदा अहिले ३५ रोपनी मात्र बाँकी छ। गुरुनानक मठ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने सपना छ उनको।

बि्रटिसकालीन भारतको शेरे पन्जाब भनिने जम्मु कश्मीरमा जन्मेका प्रीतम सिंह तराई-मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य छन्। राजनीतिमा लाग्नुको रहस्य के छ ? उनी हाकाहाकी भनिदिन्छन्, "मेरो दोस्ती त उपेन्द्र यादवसँगै हो, केन्द्रीय सदस्यचाहिँ हृदयेश त्रिपाठीले बलजफ्ती बनाइदिएका हुन्।" तर, मधेसवादी नेताहरूको लालची, भ्रष्ट र अनुशासनहीन चरत्रि देख्दा उनलाई औडाहा हुन्छ।

राजा महेन्द्रलाई अमरनाथ यात्राका बेला कश्मीरको आफ्नै घरमा स्वागत सत्कार गरेका रहेछन् प्रीतमले। उनलाई सार्वजनिक यातायातको अनुमति पनि तिनै राजाले दिएका हुन्। त्रिभुवनका दुवै रानी ईश्वरी र कान्ति पन्जाबी भए पनि आफ्नो नाताका नभएको उनको भनाइ छ। कमाइको १० प्रतिशत समाजसेवामा लगाउने चलन छ, शिख समुदायमा। उनले कुपन्डोल गुरुद्वारामार्फत गणेश हिमाल बालविकास केन्द्रमा ४० जना बालबालिकालाई पढ्ने, खाने र बस्ने व्यवस्था मिलाइदिएका छन्। तिनलाई आश्रम नै बनाएर राख्ने उनको सोच छ।

जोसिला सरदारजीले बुढ्यौलीको खाता खोलेकै छैनन्। पत्नी र एक्ला पुत्रको शोक नलिई सुखी र खुसी जीवन बिताइरहेका छन्। उनको परिवार नै शिक्षा क्षेत्रमा छ। भाइले काठमाडौँमै रूपीज इन्टरनेसनल स्कुल चलाएका छन् भने नातिले स्टेपिङ् स्टोन्स नामक मन्टेसरी। जीवनका लगभग ५० वर्ष यात्रामै बिताएका छन् उनले। सन् १९६१ मै युरोप, अमेरिका घुमेका रहेछन् । अहिले पनि उनको सुटकेस प्याकै हुन्छ। अधिकांश समय घरबाहिरै हुन्छन्। दिल्ली त उनी महिनाकै चार-पाँचपटक आउजाउ गर्छन्। आफ्नो पजेरो आफैँ हाँक्छन्।

सरदारजी भनेपछि ठट्टा त स्वतः जोडिइहाल्छ। सरदारजीको १२ बज्यो भन्ने त लोक आहान नै छ। प्रीतमसँग पनि 'जोक्स'को गोदाम छ। भन्छन्, "८० प्रतिशत बलिउड त सरदारजीहरूकै हो ।" शिखको भोलापनमाथि अनेक चुट्किला छन्। एकपटक जर्मन तानाशाह एडोल्फ हिटलरले भनेछन्, 'मेरो शब्दकोशमा असम्भव भन्ने शब्द नै छैन।' एक शिखले तत्काल प्रतिक्रिया दिएछन्, 'अहिले पछुतो मानेर के हुन्छ, शब्दकोश किन्ने बेलामै हेर्नुपथ्र्यो।'

दुई सय वर्षअगाडि कश्मीरी ब्राह्मणबाट शिख भएका रहेछन्, प्रीतमका पुर्खा। शिख गुरु गोविन्द सिंहले हरेक सरदारलाई सेन्ट सोल्जर्स (सन्त सिपाही)का रूपमा अथ्र्याएका छन्। एकातिर परमात्माको भजन जप्ने साधु, अर्कातिर धर्म रक्षार्थ तरबार उठाउने सिपाही। सेतो कपडाभित्र काइँयोसहित कपाल सजाउने शिख समुदायमा धूमपान, मदिरापान, परस्त्री, परपुरुषगमन मनाही छ। पानभन्दा स्नानलाई महत्त्व दिइएको छ। एकल महिलाको पुनःविवाह स्वीकृत छ। तर, प्रीतम हैरान छन्, "पैगम्बर, राजा, महाराजा, जन्माउने महिलालाई टेलिभिजन, फिल्म र मोबाइलले बिगारसिक्यो।"

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’