- ‘साहित्य अकादमी पुरस्कार पेन्सनपट्टाजस्तो’
एनसेल नेपाल लिटरेचर फेस्टिबलको ‘ह्याङ्ओभर’मा छ, काठमाडौँ। प्रज्ञा-प्रतिष्ठानको आँगनमा भारतका विनोद मेहता, अमिश त्रिपाठी, अद्वैता कला र मनप्रसाद सुब्बाको कद एउटै थिएन। यति हुँदाहुँदै पनि दार्जीलिङवासी नेपालीभाषी सुब्बा टड्कारो देखिने नै भए। तिनीसँग एकछिन गफिने मोड खोज्दाखोज्दै कुनै सूत्रले गोप्य प्रसंग सुनाइदियो, “कवि त नागार्जुन डाँडातिर डेटिङ्मा गएका छन्।”
अब नपछ्याएर भयो ? दार्जीलिङ् हिँड्ने अघिल्लो रात उनले समय मिलाए। हस्याङफस्याङ गर्दै पुतलीसडकको होटल तिरुपति, कोठा नम्बर ३०२ मा पुर्याए। “दिउँसोको घुमघाम कस्तो रह्यो त ?” हँसियाजस्तो धारलिो प्रश्नमा चकलेटी जवाफ आयो, “अँ, ओशो तपोवनतिर इन्गेजमेन्ट थियो।” यी त साँच्चै रोमान्टिक कवि रहेछन्।
डेटिङ् र इन्गेजमेन्टका भाषा बोल्ने कविको उमेर कति होला ? मात्र ६० वर्ष। फेसनको सहर दार्जीलिङका यी टिपटप कविको हुलिया प्लस टूका विद्यार्थीको जस्तो छ। उनको पहिरन, अनुहार र हाउभाउले ६ दशकको इतिहास लुकाएको छ। अझ टिसर्ट र जिन्समा ठाँटिँदा त उनलाई कसैले बूढापाका भन्न सक्दैन।
प्रचलित कविको विम्बमा उनी छँदै छैनन्। “म देशी कविजस्तो देखिन चाहन्नँ भाइ,” उनले भने, “मेरै कविताले मात्र मलाई कवि प्रमाणित गरोस्।” उनलाई पनि आमकविका प्रस्तुति स्वाभाविक लाग्दैनन्। यस्तो लाग्छ, यी कवि पक्का प्रेमी हुन्। प्रेमको उमेर छैन। उमेरै भुलेर बरालिँदा कैयौँपटक उनले घरझगडाको सामना गरेका छन्।
सुब्बाले थुप्रै प्रेम-कविता लेखेका छन्। प्रेमका निजी अनुभूतिका पुस्तक भने छैनन्। जीवनमा उनलाई धेरैले प्रेम गरे। उनले पनि धेरैलाई प्रेम गरे। यति मात्र होइन, कतिपयलाई उनले धोका दिए। कतिले उनलाई धोका दिए। एउटीसँग त उनले ‘फ्लर्ट’ नै गरेछन्। भनिदिएछन्, “म तिमीलाई मन पराउँछु।” उनी ‘सिरयिस’ भइहालिन्। तर, उनले साँचो प्रेम गर्न सकेनन्।
एक वर्षसम्म ती केटीले पछ्याउन नछाडेपछि कवि भुटानतिर भागे। “दुई महिना दुःख पाएर फर्किंदा पनि केटी त पर्खिरहेकी,” उनले सुनाए, “हातमुख जोड्ने केही काम नपाएर भित्ता रंगाउनुपर्यो।” उनले जीवनसाथी बनाउन खोजेकी केटीले चाहिँ अन्यत्रै घरसंसार बसाइन्। उनी विक्षिप्त भएर स्त्रीको मुखै नहेर्ने तहमा पुगेछन्। अन्तिम चरणमा दार्जीलिङकै माला सुब्बासँग लगनगाँठो कसे उनले। त्यतिबेला २५ वर्ष मात्र थियो उनको उमेर। अहिले त छोराछोरीले नै गधापच्चीसी नाघिसके। छोरा भूपेन्द्र सुब्बा नयाँ छिमलका शक्तिशाली कवि मानिन्छन्।
त्यसो त सुब्बा दार्जीलिङ गएको एक पुस्ता मात्र भएको छ। पाँचथरको इम्बुङ हो, उनको पुख्र्यौली थलो। त्यसैले पनि नेपाल आउजाउ बाक्लो छ। उनका बाबु किशोरकालमै दार्जीलिङ पुगेका रहेछन्। लामागाउँकी लिम्बू युवतीको प्रेममा परेछन्। अनि, त्यतै घरजम गरेछन्। “मेरा आमाबाबु दुवै शिक्षित थिएनन्,” उनले सुनाए, “चार वर्षको उमेरमै दुईतिर झ्ल्याटुङ पारेर मलाई स्कुल पुर्याएछन्।” दुई अक्षर चिन्नुमा बाबुआमाको आशीर्वाद सम्झन्छन् कवि।
प्राथमिक पाठशाला पढ्दा नै उनले कविता लेखे, ‘घाम र हावाको झगडा’। त्यो गीतिलयमा उनको झुकाव हो। “मसिना नानीहरू गाउँछन्, गीतका गेडा नबुझीकन,” उनले भने, “त्यस्तै काव्यिक माधुर्यले मेरो कलिलो मनलाई पगालेछ।” त्यसैले होला, कवि रेमिका थापा उनलाई ‘फिनिक्स कवि’ मान्छिन्।
गि्रक-इजिप्ट मिथ हो, फिनिक्स। चम्किलो प्वाँख, सुनौलो पुच्छरवाला फिनिक्स आफ्नै ज्यानबाट निस्केको आगोले गुँडमै खरानी हुन्छ। जल्न बाँकी अंशबाटै उसले पुनःजन्म लिन्छ। अनि, नयाँ गुँड बनाउँदै पहिलेजस्तै सुन्दर गीत गाउँदै उड्न थाल्छ ।
आफूभन्दा २० वर्ष कान्छी कवि रेमिकासँग मिलेर सुब्बाले किनाराका आवाजहरू न्ाामक संयुक्त कवितासंग्रह निकालेका छन्। गायत्री चक्रवर्ती स्पिभाकको क्यान द सवाल्टर्न स्पिक र एडवर्ड सइदको ओरिन्टालिज्ममा जस्तै उनीहरूले मूलधारबाट बाहिर राखिएका नेपालीभाषी गोर्खाका आवाजलाई काव्यको बान्कीमा पस्केका छन्।
निग्रो, यहुदी, रेड इन्डियन, एङ्लो इन्डियन, आदिवासी दलितकै उचाइमा समताको आवाज चर्काएका छन्। यसले दार्जीलिङको साहित्यिक परविेशलाई खलबलाइदिएको छ। सुब्बा र रेमिकाको काव्यिक जोडीको चर्चा दार्जीलिङदेखि काठमाडौँसम्म उस्तै छ। रेमिका सुब्बाको खुलेर प्रशंसा गर्छिन्, सुब्बा रेमिकाको। सुब्बा रेमिकाको अन्तर्वार्ता लिन्छन्, रेमिका सुब्बाको। यो अन्तरंग सम्बन्धको पहेली जोकोही बुझ्दैनन्। यसैलाई लिएर कतिपयले सुब्बालाई ‘नारीलोलुप’ या ‘लड्कीबाज’को बिल्ला भिराइसकेका छन्। “रेमिका राम्रो हात भएकी कवि हुन्,” उनी भन्छन्, “हाम्रो केमिस्ट्री मिल्छ। त्यसैले नयाँ प्रस्तुति दिन सफल भयौँ।”
रेमिकाको भनाइमा किनाराका आवाजहरू उत्तर औपनिवेशिक संकथन हो। विम्ब र प्रतीक उत्पादन नै कविता हो भन्ने कुरा अस्वीकार गरेका छन् सुब्बाले। अनौपचारकि कविता लेखनको औपचारकि प्रस्ताव मानेकी छन् रेमिकाले। बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू -सन् १९७९)सँगै सुब्बाको काव्ययात्रा सुरु भयो। त्यही साल उनको लघु उपन्यास प्रकाशन भयो, त्यो मोडसम्म पुगेको मान्छे । दार्जीलिङ पुगेकी पारजिातले होटल सोसाइटीमा भेट्दा ६८ पृष्ठको त्यो पुस्तकलाई उपन्यासकै दर्जा दिए। पछि अर्को उपन्यास पनि थालेछन् उनले। तर, २५, ३० पानाभन्दा अगाडि बढाउन पाएनन्।
बुख्याँचाहरूको देशमा, उष्मा, आदिम बस्ती, ऋतु क्यानभासमा रेखाहरू र अक्षर अर्केस्टा उनका काव्यिक उपलब्धि हुन्। ऋतु क्यानभासका रेखाहरूमा उनले पर्यावरण विमर्श गरेका छन्। उनका दुई कृतिले मात्र दोस्रो संस्करण देखेका छन्, ऋतु क्यानभासमा रेखाहरू र आदिम बस्ती। आदिम बस्ती मैथिली र अंग्रेजीमा अनुवादमा गइसकेको छ।
आदिम बस्ती कवितासंग्रहले नै हो, उनलाई सन् १९९८ मा भारतको विख्यात साहित्य अकादमी पुरस्कार दिलाएको। एक लाख भारुको यो पुरस्कार पाएपछि उनी ‘लोकल’ रहेनन्। ‘ग्लोबल’ तहमा उनको चर्चा हुन थाल्यो। साहित्य अकादमी पुरस्कार पाएपछि केही छैन भने पनि लेखक देखिन थाल्छ। यहाँको मदन पुरस्कारजत्तिकै प्रतिष्ठा पाउँछन्।
पछिल्लो समय त साहित्य अकादमी पुरस्कार लेखकहरूका निम्ति पेन्सनपट्टाजस्तै छ। रटिायर्ड भएपछि राज्य सरकारहरूले साहित्यिक पेन्सन दिन्छन्। सन् १९७६ मा इन्द्रबहादुर राईले पहिलोपटक यो पुरस्कार थापेका रहेछन्। भारतका २२ वटा भाषामा लेख्नेलाई एकसाथ दिइने पुरस्कार यस वर्ष नेपालीभाषी लेखकले पाएनन्। त्यसैले यसका जाँचकी कवि राजेन्द्र भण्डारीको धूवाँदार विरोध सुनिएको छ। पुरस्कारका लागि कुनै कृति योग्य देखेनन् रे उनले।
‘दार्जीलिङले आज जे गर्छ, नेपालले भोलि त्यही गर्छ ।’ यो प्रसिद्ध भनाइ यतिखेर असान्दर्भिक भइसकेजस्तो लाग्छ। हुन त त्यहाँ तेस्रो आयाम, लीला लेखनका इन्जिनियर इन्द्रबहादुर राई जीवितै छन्। अन्यान्य नाम अघिल्तिर प्राध्यापक, डाक्टर जोड्ने पनि प्रशस्तै छन्। तर, त्यहाँको कलासाहित्यले नवजीवन पाउन सकेको छैन। “हामीले आफ्नो काम गररिहेका छौँ,” सुब्बा भन्छन्, “प्रचारप्रसार कमजोर भएको हुन सक्छ।”
उनको अनुभवमा दार्जीलिङका प्रकाशकहरूमा त्यति व्यावसायिकता छैन। “लेखकका रूपमा मेरो सबैसित सम्बन्ध छ। भेटेजति पुस्तक पढिरहेको छु। सोसल नेटवर्कका माध्यमबाट अपडेट भइरहेकै छु,” उनले थपे, “प्रकाशकको तहमा नेपालसँग दार्जीलिङको सोझो सम्बन्ध छैन।” भारतीय नेपाली साहित्य सुधीर क्षेत्री, राजा पुनियानी, मनोज बोगटी, कर्ण विरह, भूपेन्द्र सुब्बा, भोगिराज सुब्बा आदि नवस्रष्टाको आडमा नयाँ कलेवर लिने कोसिसमा छ।
त्यसो त सुब्बाकै पहिलो चरणका कविता विम्बको जन्जालमा अल्भिmएजस्ता देखिन्छन्। पछिल्ला चरणका कविता आख्यानात्मक छन्। सुन्दा रुचिकर, कथा मिसाइएका। आदिम बस्तीमा उनले भनेका छन्, ‘कविता अतिभावुकताको चञ्चल लहड अवश्य होइन। तर, चेतनाको गम्भीरताबाट प्रस्फुटित गहिरो चिन्तन साधना हो।’
कवि चाहन्छन्, कविता पुरानोकै नयाँ संस्करण मात्र नहोस्। रचनामा उनी सदैव प्रयोगधर्मी लाग्छन्। प्रयोगधर्मिता कुनै सिद्धान्त होइन। तर, हरेकपटक नव्यता उनको आग्रह हो। “नव्यताको आग्रहमा नै गतिशीलता छ। गतिशीलता नभई कविता लेख्न पनि सकिँदैन,” उनले सुनाए, “कविता लेखेपछि केही बिसाएजस्तो हलुका अनुभव गर्छु।”
दार्जीलिङको आन्दोलनका बेला कवि सुब्बा भागेर काठमाडौँ आउनुपरेको तीतो सम्झन्छन्, उनका शुभचिन्तक। काठमाडौँ, गोकर्णमा उनले केही वर्ष पढाए पनि। दिवंगत कवि शोभित राईसँग बसे त्यतिबेला। त्यसैले काठमाडौँको भूगोल उनलाई राम्ररी थाहा छ। काठमाडौँलाई सम्बोधन गरेर कविता पनि लेखेका छन्।
दार्जीलिङको पूर्वी, उत्तरी कुना बिजनबारीमा छ, उनको बसोबास। विद्यासागर हाइस्कुल र विजनबारी डिग्री कलेजमा अंग्रेजी पढाउँछन्। “मनप्रसाद सुब्बा भारतीय नेपाली साहित्यका सफल र सक्षम कवि हुन्,” लामो आत्मीय उठबस गरेका कवि अविनाशको संक्षिप्त समीक्षा छ, “उनी साना वा कमजोर कवि होइनन्।”
त्यसो त सुब्बाका छिमलका धेरै कवि हराएका छन्, नोज्र्याङ स्याङदेन, जस योञ्जन प्यासी, ज्ञानेन्द्र खतिवडा, कालुसिंह रणपहेलीहरू। जीवन थिङ, भक्त राईहरू असामयिक मरे। भविलाल लामिछाने, अविनाशलगायत कवि लेखिरहेकै छन्। हावाले रूख हल्लाएजस्तो मन र मस्तिष्क हल्लाइदिने कविता लेखेका छन्, सुब्बाले। एउटा उदाहरण हो- ‘सिद्धार्थ उर्फ सिद्धे’।
पछि ऊ सिद्धार्थबाट सिद्ध हुँदै बुद्ध भयो
म चै सिद्धार्थबाट सिद्धे हुँदै सिद्धिएँ ।
यिनै हल्लाउने कविता लिएर उनले गुरुकुलदेखि धुलिखेल, बनेपा, फिदिम, विराटनगर चहारेका छन्। समय, जीवन र साहित्यको विमर्श गरेका छन्। “म किन र कसरी कवि भएँ मलाई नै थाहा छैन,” उनले भने, “जस्तो मीठो गीत सुन्दा किन आनन्दित भएँ भनेर हामी आफूलाई सोध्दैनौँ।”
सदैव नवीनतातिर आकषिर्त सुब्बा हरेक पंक्ति नयाँ प्रकारले व्यक्त गर्न चाहन्छन्। पछिल्लो कृति अघिल्लोभन्दा बेग्लै होस् भन्ने चाहन्छन्। साहित्यले सग्लो परचिय दिएजस्तो लाग्छ उनलाई। “खोलामा एक मुहूर्तमा आएको पानी रहिरहँदैन, अर्कै आइसक्छ,” उनले भने, “समयको ढुकढुकी छाम्न सक्ने क्षमता सर्जकमा चाहिन्छ।”
Nice article. Darjeeling is very rich in Nepali literature. Darjeeling does not survive in international donations, grants and loans, the local people work hard to run the fragile economy. Poet Subba has lived to his times and he is probably one of the best products of Darjeeling.
जवाब देंहटाएं