बदनाम प्यारो

ढोकामै छ, अर्धनारीश्वरको मूर्ति। गोप्य अंग बोराले छोपिएको अवस्थामा। पुरुष र महिलाको आलिंगनजस्तो लाग्ने सातफिटे मूर्ति म्युजियम र फोटोमा त होला। कसैको निजी निवासमा छैन।
काठमाडौँ, घट्टेकुलोस्थित आफ्नो घरमा रहेको यो अवतारमा नारी-पुरुष समानता देख्छन्, लेखक/चिन्तक पुष्कर लोहनी, ७५। शिवशक्ति रूपका यी उपासकलाई मूर्ति अझै अधुरो लाग्छ। भन्छन्, “मैले भनेजस्तो सिंह र गोरुको टाउको बनाउन नसकेपछि मूर्तिकार नै भाग्यो।”
लेखनकै कारण पद, प्रतिष्ठा, पुरस्कार र सम्मान पाउने थुप्रै छन्। लेखनकै कारण बदनाम छन्, पुष्कर। उनी यौनबाहेक अरू लेख्दैनन्। “५० वर्षदेखि साहित्यमा अविराम यौन लेख्दै आएको छु,” उनी भन्छन्, “अब अरू विषयमा लेख्न थाले पाठकले नै अस्वाभाविक नमान्लान् ?”
सेक्स लेख्दालेख्दै अब त उनी आफैँ सेक्स सिम्बोल भइसकेका छन्। “प|mायड भन्नेबित्तिकै यौन, यौन भन्नेबित्तिकै प|mायड,” उनी स्वीकार्छन्, “पुष्कर लोहनी भन्नेबित्तिकै सेक्स सिम्बोल, सेक्स सिम्बोल भन्नेबित्तिकै पुष्कर लोहनी।”
‘माक्र्सवादी स्कुलमा जन्मेको प|mायडिस्ट।’ राजनेता बीपी कोइरालाको भनाइ सम्झना छ, पुष्करलाई। ज्ञानेश्वरको गुरुज्यू परिवारमा जन्म भयो उनको। सौतेनी माम्लोका कारण बाल्यकालमै घर छाड्नुपर्यो। अड्डा-अदालत धाउनुपर्यो। संगत भयो, भिनाजु नाताका विद्वान् गोविन्दप्रसाद लोहनीसँग। माक्र्स र प|mायड पढाउने गोविन्दले कम्युनिस्टभन्दा विद्रोही बन्न उक्साए।
डीएच लरेन्सको कविता ‘स्नेक’ कामोत्तेजक लागेछ उनलाई। एउटा सर्प पोखरीमा डुबेको, पहाड चढेको, फनफनी घुमेको जस्ता विम्बले मनमा उथलपुथल ल्यायो। अनि, अठोट गरे, “म पनि लरेन्सजस्तै लेख्छु।”
नभन्दै पुष्कर लोहनीले हिरो कविता लेखेछन्, ‘कौडी’। ‘२० को दशकमै लेखिएर अंग्रेजी, प|mेन्च, नेवारी, जापानी, बंगाली र हिन्दी भाषामा उतारिएको १२ हरफ र ४४ शब्दको त्यो एक्लो कवितामा उनी बाँचिरहेका छन्।
आफ्नो जमानामा भ्वायलिनवादक बन्ने रहर रहेछ उनमा। मुन्चाको पसलका भ्वायलिन मास्टरकहाँ धाए पनि। तर, एक्लो छोराले घाँटीमा भ्वायलिन राखेर घ्यारघ्यार बजाएको मातापिताले हेर्न सकेनन्। त्यसपछि उनी छिनो लिएर ढुंगा खोप्न थाले। त्यसमा पनि सफल भएनन्। “पियानो, गितार सिकेको भए पनि हुन्थ्यो, पेन्टिङ् गरेको भए पनि हुन्थ्यो,” उनी भन्छन्, “जीवनमा मैले जहिले पनि कठिन काम नै रोजेँ।”
साहित्यमा लागेबापत सात दिन जेल बसेको अनुभव पनि छ उनीसँग। बगैँचा पत्रिकामा यौनकथा छापेबापत। “अश्लील कथा छापेको त निहुँ मात्र हो,” उनी भन्छन्, “राजा महेन्द्रको ‘उसैका लागि’लाई चोरीको बात लगाएकाले समातिएको हुँ।” स्नेहलता पन्तले त्यसमा हिन्दी गीत चोरीको प्रमाण दिएकी थिइन्।
त्यसको आफ्नै किस्सा छ। पुष्कर आफ्नो पत्रिकामा नामी लेखकको रचना राख्न चाहन्थे। त्यो पनि यौनकथा। कथा माग्दा दौलतविक्रम विष्टले दिएनन्। त्यसपछि आफ्नो कथा ‘एक साँझ’ उनको नाममा छाप्न राजी गराए।
“त्यतिबेला मेरो नाम चलेको थिएन, त्यसैले उनको नाममा छाप्नुपर्यो,” उनी सुनाउँछन्, “पञ्चायतले पत्रिकामाथि प्रतिबन्ध लगायो। मलाई डिल्लीबजार सदरखोरमा थुन्यो।” २०१८ सालमा उनले दिएको बयान ग्रीष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहासमा छ।
समस्या के हो भने कतिपय लेखक पुष्कर लोहनीमा साहित्यभन्दा बढी पोर्नोग्राफी देख्छन्। “म साहित्य लेख्छु, पोर्नोग्राफी लेख्दिनँ,” उनले प्रतिवाद गर्दै आएका छन्, “पोर्नोग्राफी सस्तो आरोप मात्र हो।”
त्यसो त नांगा चित्र, नांगा तस्बिर र नांगा साहित्यको सुरुवात पुष्कर लोहनीले गरेका होइनन्। एउटाले पैसा दिएर आनन्द लिने र अर्काले पैसा लिएर आनन्द दिने सिद्धान्त पनि पुरानै हो। यति मात्र हो, बीपी कोइराला, पोषण पाण्डेहरूको यौन मनोवैज्ञानिक लेखन पुष्करले पछ्याएनन्। बरू प्रतीकात्मक लेखनमा अल्भिmरहेको साहित्यलाई एक पाइला अगाडि ल्याइदिएका छन्।
यौन कहाँ छैन ? हरेक कलामा यौन छ। यौन अश्लील होइन। बरू प्रस्तुति अश्लील हुन सक्छ। “ब्लु पि्रन्ट श्लील हो कि अश्लील ?” उनी सोध्छन्, “कानुनले दिएको मात्र लेख्ने हो भने किन चाहियो साहित्य ?”
ठाउँपिच्छे भिन्नाभिन्नै छ, यौनको परिभाषा। एउटै चीज कहीँ श्लील हुन्छ, कहीँ अश्लील। डीएच लरेन्सको लेडी च्याटर्लेज लभरलाई अश्लील भन्नेहरू पनि छन्। अमेरिकी अदालतले त्यसैलाई अश्लील होइन भनिसक्यो।
कविता र कथा उनका सिर्जना क्षेत्र हुन्। दुवै विधामा अनिवार्य आउने विषयचाहिँ यौन। उनका कवितालाई संस्कृत साहित्यका प्रख्यात कवि अमरुकसँग तुलना गरेका छन् कतिपयले।
पुष्कर लोहनीको साहित्यमा शिथिल शैली र अप्रासांगिक कल्पनाको कुनै स्थान छैन। भड्किलो रूपमा यौनवादी भनिँदा भने उनलाई दुःख लाग्छ। “अरू माक्र्सवादी हुन पाउँछन् भने म यौनवादी हुन पाउँदिनँ ?” उनी अग्निवर्षा गरिहाल्छन्, “सारा समाज यौनानन्दमा डुब्ने, दोषजति मैले पाउने ?”
यौनवादी भनेर छुवाछूत गरिएका बेला उनका विषयमा एमए शोध गर्न लगाएका रहेछन्, माओवादी नेता ऋषिराज बरालले। नयाँ पुस्तासँग उनले यस्तै उदार अपेक्षा गरेका छन्। “तीन-तीनपटक एउटै पुरस्कार लिने र दाहिने पाकेटबाट देब्रे पाकेटमा हाल्ने नै यहाँ महान् साहित्यकार छन्,” उनी भन्छन्, “अधकल्चा र काँचाहरू पुरस्कार एवं प्रकाशन संस्थालाई दाइजोपेवा, ठेक्कापट्टा सम्भिmरहेका छन्, यहाँ सिर्जनशील साहित्यकारको महत्त्व छैन।”
संसार यौनमय छ। यौन विवाहित र अविवाहित हुन्न। यौनेच्छा न आफैँ मर्न सक्छ, न त कसैले मार्न सक्छ। यौनले नै मान्छेलाई शक्तिहीन र शक्तिशाली तुल्याउँछ। उनले बुझेको यौन सत्य यत्ति हो। नयाँ पुस्ताको यौनजीवन उनलाई रोचक लाग्छ। “अहिलेको पुस्तालाई भेजिनल, एनल र ओरल तीनैथरी सेक्स सामान्य भइसक्यो,” उनी भन्छन्, “उनीहरूका लागि प्रेम सेक्सअघिको सफा नाम मात्र हो।”
नेपालीभन्दा अंग्रेजी साहित्यले आफूलाई माया गरेको उनको बुझाइ छ। अभि सुवेदी, पद्म देवकोटा, महेश पौड्यालहरूले उनीबारे लेखेका पनि छन्। देवकोटा लोहनीलाई प|mायडका कट्टर शिष्य अनि यौनिकताको विषयलाई खुला रूपमा लेख्ने पहिलो कवि मान्छन्।
“लोहनी सतही स्तरका यौन बहसका प्रतीक मात्र होइनन्। यौन विषयको सामान्य बुझाइभन्दा पर र माथि छन्,” अंगे्रजीका समालोचक पौड्यालले लेखेका छन्, “पूर्वीय र पश्चिमी दर्शनको उच्चतम रेखाचित्रलाई परोक्ष रूपमा देखाएका छन्। ब्रह्माण्डीय चेतना स्तरमा यौनको पुनःपरभिाषा गरेका छन्।”
अंग्रेजीमा नलेख्नुलाई आफ्नो भूल ठान्छन् पुष्कर। त्यसो त उनले अंग्रेजीमा एमए नपढेका पनि होइनन्। “स्तर छैन भनेर मलगायत रत्नशमशेर थापा, वासुदेव त्रिपाठीलाई पि्रन्सिपल सूर्यबहादुर शाक्यले फेल गरििदए, पास हुनेलाई थर्ड डिभिजन मात्र दिए,” उनी भन्छन्, “म अर्थशास्त्र पढ्छु भन्दा फस्र्ट क्लास दिन्छु भनेर नेपालीतिर लगे। त्यसमा पनि हायर सेकेन्ड डिभिजन मात्र दिए।”
महाकवि लक्ष्मीप्रसाद देवकोटाकहाँ ट्युसन पढ्न गएको पनि स्मरण छ उनलाई। नगरपालिकाका प्रधान अफिसर बुबा होमप्रसादले टोलेसँगको विवाद मिलाइदिएको गुन तिर्न देवकोटाले उनलाई ट्युसनमा बोलाएका रहेछन्। देवकोटाको कोठामा त पाइला राख्ने ठाउँ पनि थिएन।
डलरमा किताब किन्ने लेखकमा पर्छन्, पुष्कर। एकैपटक पाँच-सातवटा किताब पढ्छन्। विज्ञानदेखि कानुन, मनोविज्ञानदेखि इतिहाससम्मका पुस्तक। ०११ मा एसएलसी दिएका हुन् उनले। निर्मल लामा, हर्क गुरुङ, द्वारिका श्रेष्ठ, लक्ष्मण राजवंशी आईएका सहपाठी रहेछन्।
त्रिभुवन विश्वविद्यालय सेवामा नौ वर्ष करारमा राखेर ‘अनफिट’ लेखिएको घटना पनि बेहोरेका छन् उनले। कवितामा यौनबारे विद्यावारिधि प्रस्ताव अस्वीकृत भएको पनि सम्झना छ। पर्यायवाची शब्दकोशमा समेत उनको पसिना परेको छ। एक दिन प्रज्ञा-प्रतिष्ठानमा पर्यायवाची शब्दकोशको काम सकेर घर फर्केछन्। उनीभन्दा पहिले अवकाश पत्र पुगेछ घरमा। लेखिएको रहेछ, ‘तपाईंलाई पर्यायवाची शब्दकोशबाट भोलिदेखि मुक्त गरिएको छ।’
उनको सबैभन्दा पि्रय विधा नाटक हो। ०११ सालमा शारदामा पठाएको नाटक छापिएको भए र ०३६ सालमा एकेडेमीमा पठाएको नाटक मञ्चन भएको भए उनी पनि नाटककार हुने रहेछन्। उनी आफ्नो अन्तिम कृति नाटक बनाउन चाहन्छन्।
“म विश्वास र अविश्वासबीच बाँचेको छु। सारा ज्ञानको नयाँ व्याख्या गर्नु मेरो अधिकार हो,” योगी जीवन बिताइरहेका पुष्कर भन्छन्, “कसैले घृणा गरोस् कि प्रशंसा, म कहिल्यै हारनिँ। घृणाहरूलाई पार गरेर म आइपुगेको छु।”
उमेर छिप्पिएपछि मात्र विवाह भयो उनको। एक त उनले मन पराएकाले असली माया गरेनन्, अर्को धन, सम्पत्ति, खानदान र शक्तिका आधारमा नाता गाँस्ने चलन उनले कहिल्यै मन पराएनन्।
यी लेखक सरदार यदुनाथ खनालको इन्क्वायरीमा भने पास भए। र, बरोदामा होमसाइन्स पढिरहेकी भतिजी महालक्ष्मी सुम्पिए। पुष्करको एमए थेसिस जाँचकी उनै यदुनाथ रहेछन्।
तीन छोरी र एक छोराकी आमा महालक्ष्मीलाई आफ्ना पतिको बदनामी व्यर्थ लाग्छ। किनभने, पुष्कर यौनलाई बौद्धिक दृष्टिले मात्र हेर्छन्। उनमा आत्मरति र समलैंगिक दुवै प्रवृत्ति छैन। “नेपाली समाज अझै पुष्कर लोहनीलाई बुभmने मानसिकतामा देखिँदैन,” उनी भन्छिन्, “हाम्रो चाहना उहाँको बौद्धिकतालाई देशले उपयोग गरोस् भन्ने मात्र हो।”
रोचक कुरा के भने मदन पुरस्कार गुठीले छापेको आफ्नो पुस्तक उनले लिएनन्। “जापानी शैलीका कवितामाथिको आलोचनाको पाण्डुलिपि कमल दीक्षितलाई मैले ससर्त बुझाएको हुँ। पहिलो, मेरो ग्रामर नचलाउने। दोस्रो, कसैलाई भूमिका नलेखाउने,” उनी भन्छन्, “उनले त विषय नै नमिल्ने रमेश खकुरेललाई भूमिका लेखाएछन्। मैले त्यसलाई च्यातेर फालिदिनोस् भनेँ।” अमेरिकामा रहेका पुष्करलाई कमल दीक्षितको इमेल गयो, ‘तपाईंको घरमा ल्याइदिन्छु। आफ्नै छोराछोरीलाई च्यात्न लगाउनूस्।’ पुष्करका छोराछोरी घरमा भए पो !
पुष्कर लोहनीले पुरस्कार, सम्मान र सुनामको आशा कहिल्यै गरेनन्। बदनाम पनि उनलाई प्यारो छ। कौडी (कविता सँगालो) र चहकदार मइन्टोल र पिलपिले लालटिन (आलोचना सँगालो) नै पुष्करका ब्रान्ड हुन्। अन्य पुस्तक त उनले गणना पनि गरेका छैनन्।
अब उनलाई एउटा उपन्यास लेख्ने रहर छ। त्यो पनि कुनै महिलासँग। पुरुषको हिस्सा महिलाले लेख्ने। महिलाको हिस्सा आफू लेख्ने। “त्यो पनि नलेख्न भन्छ भने म चुपचाप बस्छु, कलम पनि उसैलाई सुम्पन्छु,” उनी भन्छन्, “अब मलाई दुई सय पुस्तक भए पुग्छ।”
टिप्पणियाँ
एक टिप्पणी भेजें