पाँचतारे सेलिब्रिटी


पाँचतारे सेलिब्रिटी
आफूले खाना खुवाएका राष्ट्राध्यक्ष, सरकारप्रमुख, धनाढ्य, व्यापारी, सेलिब्रिटी, पत्रकारजस्ता हाई प्रोफाइलको लामो सूची छ, मास्टर सेफ गोविन्दनरसिंह केसी, ५८, सँग। पाँचतारे होटल सोल्टीदेखि अन्नपूर्णसम्म ३७ वर्ष भान्सा सम्हालेका गोविन्दलाई के ख्याल छ भने पाहुनाहरू सानातिना झमेला चाँडै बिर्सन्छन्, त्यहाँ खाएका परिकारको स्वादले भने जिब्रोलाई जहिल्यै सताइरहन्छ।
सेफ 'करिअर'मा 'रोल मोडल' बनिसकेका गोविन्द पाँचतारे भान्साको सबैभन्दा माथिल्लो तह एक्जुकेटिभ सेफ बन्न सफल पहिलो नेपाली मानिन्छन्। सन् २००१ मा होटल सोल्टी क्राउन प्लाजाले उनलाई त्यो उपाधि दिएको हो। संयोग के भने पाँचतारे होटलका उच्च स्थानमा उनका फलोअर या जुनियर नै पुगेका छन्। होटल म्यानेजमेन्ट कलेजले यिनै पाँचतारे सेलिब्रिटीलाई खोज्छन्।
लहैलहैमा सेफ बन्न पुगेका रहेछन् गोविन्द। ब्रिटिस लाहुरे साथी भरतकृष्ण रानाले उक्साएछन् एकपटक, होटल लाइनमा छिर्‍यो भने संसार घुम्न पाइन्छ भनेर। त्यही सपनामा सरस्वती कलेजबाट आईए सकेलगत्तै 'फुड प्रिपरेसन एन्ड क्वालिटी कन्ट्रोल कोर्स' गरेछन् र 'ट्रेनी कमी वान'का रूपमा प्रवेश पाएछन्।
विश्वप्रसिद्ध ओबरोय ग्रुपको व्यवस्थापन रहेको होटल सोल्टीको भान्सामा त्यति बेला नेपाली सेफ छँदै थिएनन्। रोजगारी गुम्ने मनोवैज्ञानिक भयले हुन सक्छ, उनीहरू नेपालीलाई नयाँ काम सिकाउँदा रहेनछन्। प्याज ताछ्नेजस्ता मामुली काम मात्र लगाउने, मसला हाल्ने बेला अन्यत्रै पठाइदिने। त्यसैले पनि गोविन्दमा सिक्ने हुटहुटी बढ्यो।
बिहान ८ बजेदेखि राती ११ बजेसम्मको रुटिन त भइहाल्यो। ड्युटी सकेर पनि घर जान कहिल्यै हतारिएनन्। कुनै बेला त १८ घन्टासम्म काम गरेको अनुभव छ उनीसँग। त्यसैले त उनको करिअर फस्ट कमी, जुनियर सु सेफ, सेफ डी पार्टी हुँदै एक्जुकेटिभ सेफसम्म पुग्यो।
सोल्टीमा ३१ वर्ष १ महिना यसै गरी बित्यो उनको। ब्रेकफास्ट, लन्च र डिनर सबथोक त्यहीँ। छुट्टीको दिन पनि घरमा खान भ्याएनन्। कहिले कहाँ, कहिले कहाँ बोलाउने। यसबीचमा घरपरिवार, नातागोता, इष्टमित्र, बन्धुबान्धव, देवीदेवता केही भनेनन् उनले। कतिसम्म भने उनले अहिलेसम्म घरमा आफ्नो हातले चियासमेत बनाएका छैनन्। श्रीमतीलाई जम्मा दुईपटक लगेछन् होटलमा। भन्छन्, "तैपनि, श्रीमतीको गुनासो कहिल्यै सुन्नुपरेको छैन।"
चाउ एन लाई, बेनजिर भुट्टो, देङ् स्यायो पिङ्, राजीव गान्धी, फ्राँस्वाँ मित्तेरा, हेनरी किसिन्जर, वान की मुन, एपिजे अब्दुल कलामजस्ता विश्वविख्यात नेता हुन् या रचिर्ड गेर, स्टिभेन सेगल, आरडी बर्मन, नाना पाटेकर, नसिरुद्दीन शाह, रजिनी कान्त आदि नामी कलाकारले उनका हातले बनाएका परिकार खाएका छन्। तर, 'बेस्ट कम्प्लिमेन्ट्री' भने राजीव गान्धीले दिएछन्। फ्रेन्च परिकार पपिता सोल गान्धीले कति मन पराएछन् भने १० हजार भारु इनाम दिएछन्।
होटलका मेनुमा गोविन्दले थुप्रै नयाँ परिकार थपेका छन्- जोगीभात, चराको तन्द्रुक, नरम चरा आदि। कैयौँपटक विदेशी भीभीआईपी आउँदा राजासँग रोयल बैंक्वेट, प्रधानमन्त्रीसँग स्टेट बैंक्वेट चलाएका छन्। राजदरबारमा उनको निकटता कति भने गुड फ्राइडेमा खाना पठाउने काम उनकै हुन्थ्यो। श्रुति र पारस शाहका भोजको मेनु पनि उनैले बनाएछन्। अझ पारसका त कुक गाइड पनि हुन् उनी। राजा ज्ञानेन्द्रबाट उनले गोरखा दक्षिणबाहु पाएका छन्।
पश्चिम १ नम्बर नुवाकोट, राउतबेँसीमा जन्मेका हुन्, गोविन्द। उनका बाबु नेपाली सेनाका सुवेदार रहेछन्। सात दिदीबहिनी र दुई छोरामा कान्छा। कुलघरान कस्तो भने नुवाकोटबाट काठमाडौँ बसाइँ आउँदा उनका घरमा १६ जना नोकर रहेछन्। राणा प्रधानमन्त्री पद्मशमशेरसँग उनको पारिवारकि नाता रहेछ। त्यसै कारण दूध खाने भत्ता पाएछन् उनले।
नाम सुन्दा पनि राजनीतिक व्यक्तिजस्तो लागेर होला, दोस्रो संविधानसभा चुनावका बेला उनको गेटमा पेट्रोल बम राखेछन्। नातामा अर्जुननरसिंह केसी उनका दाजु पर्छन् भने रामशरण महत भिनाजु। भन्छन्, "मलाई नेताहरू सैतानजस्तै लाग्छन्। तिनले स्वीट्जरल्यान्डभन्दा सुन्दर देशको यस्तो हालत बनाइदिए।"
कुनै बेला उनले मास्टरी पनि गरेका रहेछन्, कीर्तिपुरको एक प्राइमरी स्कुलमा। विद्यार्थी सबै नेवारीमै बोल्ने। उनी बुझ्ने तर फर्काउन नसक्ने। कक्षाकोठामा पढाउँदा पढाउँदै एक विद्यार्थीले भनेछन्, 'माड्सा'प पिसाब।' उनले 'का हुँ' भन्दै पठाइदिएछन्। बिस्तारै कक्षा त झन्डै रित्तो भएछ।
जीवनमा अरूलाई हिरोको अफर आउँछ। गोविन्दलाई भने भिलेनको अफर आयो। त्यसका लागि तिब्बतियन ज्याकेट लगाएर फोटो पनि खिचाएछन्। उनका साथी विजय लामा हिरो बने भने गोविन्दलाई पछिका फिल्ममा ग्राह्यता दिने भनी पाखा लगाइयो। त्यो फिल्मआदर्श नारी विजयकै बाबु हेम लामाले बनाएका थिए।
ठीकै भनेछन्, भरतकृष्ण रानाले। ओबराय ग्रुपले खुसी भएर विश्व भ्रमणमै पठायो उनलाई। उनले देखेछन्, हिटलरजस्ता मास्टर सेफ। मन्त्रीले जस्तो झन्डा फहराएर अनि बिल्ला लगाएर हिँड्ने। फ्रान्समा एक मास्टर सेफलाई भेट्न सात दिन पर्खनुपर्‍यो उनले। भन्छन्, "साथीले सपनामा भनेका कुरा विपनाबराबर भयो मेरा लागि।"
सेफ हुँदाका सुख मात्रै छैनन्। कुकलाई के छोरी दिने भनेको पनि सुन्नुपर्‍यो उनले। पाँचतारे होटलमै नेपाली सेफले खासै सम्मान पाउँदैनन्। सुनाउँछन्, "अंग्रेज मास्टर सेफ आयो भने कम्तीमा पाँच हजार डलर पाउँछ, भारतीयले दुई लाख भारु माग्छ। यहाँ मैले पाउने भनेको कर काटेर लाखभन्दा केही बढी मात्र हो।"
त्यसो त १ सय ७५ रुपियाँमा थालेको करअिरमा एक हिसाबले छलाङ नै मारेका छन् उनले। तर, कर्नेल या अक्सफोर्ड युनिभर्सिटीबाट ग्राजुएट हुने उनको इच्छा भने अधुरै छ। कलनरी इन्स्टिच्युट अफ अमेरिकावरिपरि घुमेर त्यसको एकुन्द्रो भने मेटेका छन्।
सृष्टिका सबै प्राणीका मासु खाएका छन् उनले। मान्छेबाहेक सबथोक मान्छेलाई बनाएजस्तो लाग्छ। अब उनलाई शाकाहारी जीवन बिताउने रहर छ। मिले आश्रममै बस्न मन छ। तर, लेउझ्याउजस्तो होटल तालिम केन्द्र खोल्ने योजना छैन। नयाँ पुस्तालाई सिकाउने जाँगर भने उस्तै छ।
खानालाई भगवान्को रूप मान्छन् गोविन्द। त्यसैले उत्तिकै श्रद्धा र स्नेहसाथ खान्छन्। उनको बेस्ट कुक आफ्नै आमा हुन्। उनले छोएका हरेक परिकार मीठो। आमाले बनाएका कोदोको ढिँडो, कालिजको मासु, सखरखण्डको सेलरोटी उनलाई अझै स्मरणीय लाग्छ। उनी यस्ता कुक हुन्, जो रेस्टुराँ जान सिफारसि गर्दैनन्। भन्छन्, "डोमेस्टिक मेथड र कमर्सियल मेथड बिलकुलै फरक छन्। त्यसैले घरमै खानु जाती।"
फ्रेन्च र इटालियन खाना विशेषज्ञ भए पनि गोविन्द नेपाली खानाको सौन्दर्यबाट सम्मोहित छन्। नेपाली खानालाई अन्तर्राष्ट्रिय मेनुमा लैजाने इच्छा पनि छ। उनको 'डि्रम क्लाइन्ट' कोही छैन। उनका लागि प्रधानमन्त्री र सडकछाप एकै हुन्। उनले नखाएका रेस्टुराँ काठमाडौँमा कमै छन्। तर, उनको प्रिय रेस्टुराँ भने एउटै छैन। उनी चिल्लो, पिरो, अमिलो र मसलारहित हलुका खाना स्वास्थ्य र दीर्घायुका लागि उत्तम मान्छन्।
३२ वर्षको उमेरमा उनको घरजम भयो, प्रसूतिगृह अस्पतालकी अफिसर इन्दिरासँग। दाम्पत्य जीवनमा बिहानीका ताराजस्ता दुई छोरा उदाए। तिनको पालनपोषण र शिक्षादीक्षामा लगानी गरे। चार वर्षको अन्तरालमा उनको जीवनमा आँधीबेहरी आयो। १८ वर्ष र २६ वर्षका दुई छोरा अकालमै अस्ताए।
यति ठूलो 'ट्रेजेडी'पछि पनि हिम्मत हारनिन्, उनकी जीवनसाथीले। ५१ वर्षको ढल्कँदो उमेरमा टेस्टट्युब बेबी जन्माइन्, उनले। आईभीएफ -इन-भिट्रो फर्टिलाइजेसन) पद्धतिबाट जन्मेका छोरा अहिले तीन वर्ष भइसकेका छन्। भन्छन्, "मानिस सुपर एनिमल रहेछ। मैले मेरी श्रीमतीजस्ता सहनशील र ज्ञानी मानिस थुप्रै देखेको छु।"
झन्डै चार महिनादेखि विष्णुमती खोलाको छेउमा रहेको आफ्नो घरको कौसीमा बालक छोरा अनि ९७ वर्षीया आमासँग घाम तापेर बसेका छन्, गोविन्द। उनलाई सामान्य हिँडडुल गर्न पनि वैशाखी चाहिन्छ। मोटरसाइकलमा सवार रहेका बेला गाडीले हिर्काइदिएपछि उनको देब्रे गोडा अझै तंगि्रएको छैन। होटल अन्नपूर्णको किचेन अपरेसनमा त्यसले पारेको प्रभाव राम्ररी बुझेका छन् उनले। त्यसैले मास्टर सेफको पहिरन फुकाल्न हतारो भइसकेको छ उनलाई। कुनै दिन सजिलै भनिदिनेछन्, 'नो मोर अन्नपूर्ण।'
प्रकाशित: पुस २८, २०७०

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’