गुरुङ गुरु


गुरुङ गुरु
मझौला मण्डप। नजिकै तन्त्र, ज्योतिष, उपनिषद्जस्ता ग्रन्थहरूले भरएिको काठेदराज। बिहान ८ बजे नै चकटीमा पलेँटी मारेर बसेका छन्, 'लामा ज्योतिषी' जगमान गुरुङ, ६८। कसैका हस्तरेखा, कसैका निधारका रेखा त कसैका जन्मकुण्डली हेररिहेका छन्।  कसैको नेपाली कागज मड्याएर चिनाटिपन बनाइरहेका छन् बडो शान्त र धीरतापूर्वक।
दशकौँदेखि जगमान यसै गरी ज्योतिष साधना गररिहेका छन्। तर, कसै गरी आफ्नो भड्किलो विज्ञापन नहोस् भन्नेमा सचेत छन्। त्यसैले फलाना-ढिस्काना नेता, ओहदावाल, फुलीवाल आउँछन् पनि भन्दैनन्। भविष्य जान्न चाहने राजादेखि रंकसम्मलाई उनको  ढोकामा स्वागत छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ रहिसकेका र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको राष्ट्रिय संस्कृति अध्ययन केन्द्रका बहालवाला कार्यकारी निर्देशक जगमानलाई यसमा गर्व पनि छ। यसैको कारण आफू पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पारिवारिक ज्यो तिषीका साथै प्राज्ञ हुन सफल भएको बताउन उनलाई संकोच लाग्दैन। भन्छन्, "ज्योतिष विद्याले नै मलाई यो तहमा पुर्‍यायो। मजस्ता त कति थिए र कति छन्।"
फलादेश मिलेरै होला, चल्तीको पर्यटकीय गन्तव्य झम्सिखेलमा जगमान गुरुङ भन्नेबित्तिकै 'हेराउने मान्छे'को घर देखाउन तत्पर हुन्छन् सर्वसाधारण। उनले स्वैच्छिक रूपमा यो पेसा गर्न थालेको ३० वर्ष नाघिसक्यो। दुई छोरा, तीन छोरीका यी पिताले यसलाई  अर्थ उपार्जनको माध्यमका रूपमा भने पटक्कै हेरेका छैनन्। भन्छन्, "पढेको विषय, घरको परम्परा र आफ्नो इच्छा सबै मिलाएको मात्र हो।"
नेपाली समाजमा जगमानको परचिय कस्तो छ भने चारघरे गुरुङले नौघरे गुरुङ भन्छन्, नौघरे गुरुङले चारघरे गुरुङ। कसैले पूजापाठमा रमाउने जनजाति भन्छन् त कसैले दौरा-सुरुवालधारी राजावादी। तर, उनी त्यसमा कुनै औचित्य देख्दैनन्। भन्छन्, "काठमाडौ ँको नेवार हेर्नोस् या पूर्वको राई, दौरा-सुरुवाल लगाएर भारी बोक्छन्। यो दैन्दिनीको पोसाक हो, कुनै बाहुनको होइन।"
जहिल्यै राष्ट्रियताको ध्रुवमा अडिएका छन् जगमान। राष्ट्रहितका लागि उनले नयाँ विचार अघि सारेका छन्, समन्वयात्मक अध्यात्मवाद। त्यसकै निम्ति नेपालको राष्ट्रिय समीकरणमा अखण्ड, शिवबुद्ध समन्वयवादको भूमिका शीर्षक पुस्तकको तयारीमा छन्।  यसलाई पनि उनले अभियानकै रूपमा लिएका छन्।
 ऐनमौका अनुसार बोल्ने मान्छे निको लाग्दैनजगमानलाई । पाँच विकास क्षेत्रको अवधारणा ल्याउने हर्क गुरुङ नै जातीय राजनीतिमा लागेको उनले कहिल्यै रुचाएनन्। बरू गोपाल किराँती ठेगानमा आएकामा उनलाई स्वाद परेको छ। भन्छन्, "सत्यको सत्यतापूर्वक  नै विजय हुन्छ।"
मादी नदीको पूर्वपट्टकिो डाँडा याङ्जाकोट -६ गाउँ) 'नयाँ कास्की'को मीर उमरा वंशको जेठो हाँगो कोटाले परविारमा जन्मेका हुन्, जगमान कह्रोँगि लामा गुरुङ। त्यो ठाउँका अन्तिम मीर उमरा रहेछन्, उनकै जेठा बा हर्कजंग। तिनैको धुरी, पाली र आँगन जो डिएको घरमा जगमानको बाल्यकाल बित्यो। जेठाबा बिहानभर िपिँढीमा बसेर हेरकोर, तन्त्रमन्त्र गर्थे। साँझ जन्त्र लेख्थे। उनले लेखापढी, झारफुकदेखि तन्त्रमन्त्रसम्म तिनैबाट उत्तराधिकारका रूपमा पाएका हुन्।
नौ वर्षको उमेरमा १ कक्षामा नाम लेखाएछन् उनले। त्यो पनि भारतीय सेनाका पेन्सनवालाको संस्था सोल्जर्स बोर्डको प्राइमरी स्कुल -हाल अमरसिंह उच्च मावि)मा। त्यतिबेलासम्म उनले गुरु शेखरनाथ त्रिपाठीबाट कखरा/बाह्रखरी छिनालिसकेका थिए। कपाली  तमसुक, भर्पाई, राहदानी, राजीनामा लेख्न जानिसकेका थिए। ज्योतिषशास्त्रको चुचेचोला अश्विनी आदि अबहडाचक्र र अरू श्लोक, जोडघटाउ र गुणन सिकेपछि पढाइ सकिन्थ्यो त्यतिबेला।
ग्ााउँघरमा बसे पनि उनले खेतीकिसानी गरेनन्। घर या मावलीमा साना बालक कोही थिएनन्। लाडप्यार कति भने दौँतरीले जस्तो घाँसदाउरा र गोठालो जान दिएनन्। घरमै बूढापाकाको छेउमा बसेर गफ सुन्नु उनको बाध्यता भयो। आज त्यही सत्संगले उनलाई  सहरमा चिनाएको छ।
एक हिसाबले भाग्यवादी हुन् जगमान। जीवनमा कुनै अजम्बरी सपना पालेनन्। राजनीति, जागिर, लाहुर कतै ध्यान दिएनन्। बरू बीए पास गरेर गुरुङका बारेमा एउटा किताब लेख्ने हुटहुटी भने लागिरह्यो।
नभन्दै उनले गुरुङका बारेमा दुईवटा पुस्तक लेखेका छन्, गुरुङ जाति तथा संस्कृति -०३४) र नेपालको एकीकरणमा गुरुङहरूको भूमिका -०४१)। भन्छन्, "मलाई गुरुङबाहेक अरू कुरा थाहै थिएन। पुस्तक लेख्नकै लागि वंशावली सारेर राखेको थिएँ।" साथै, उनका  मुस्ताङका सांस्कृतिक सम्पदा, गण्डकी प्रसवण क्षेत्रको सांस्कृतिक सम्पदा, तमुवानको ऐतिहासिक वृत्तान्तलगायतका पुस्तक प्रकाशित छन्।
एसएलसीलगत्तै गण्डकी हुलाक नियन्त्रण कार्यालयमा मुखियाको जागिर थालेका जगमानले पृथ्वीनारायण क्याम्पस पोखरामा शिक्षाशास्त्र संकायको हेड असिस्टेन्ट र सहायक प्रशासकका रूपमा काम गरे। कामु उपप्रशासक भइसकेका उनी त्यसको जाँचमा भने पास  भएनन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन पार्थिवेश्वर तिमिल्सिनाले अध्ययन-अनुसन्धानमा उनको चाख देखेर नेपाल र एसियाली अनुसन्धान केन्द्र -सिनास)मा पठाइदिए। त्यसका प्रमुख डोरबहादुर विष्टले ठाडै भनेछन्, 'तिमीलाई धेरै विद्वान्  भएर या आवश्यकता भएर झिकाएको होइन, तिम्रो सम्भावना देखेर मात्र हो।'
त्यति बेला अनुसन्धानका निम्ति जगमानसहित टेकनारायण राजवंशी, कर्णमान धिमाल, छक्कबहादुर लामा, जयनारायण हुजेदारको टोली  राजधानीमा आएको रहेछ। काठमाडौँ आएपछि हुलचालमा एमए गरे, प्रथम श्रेणीमा प्रथमसहित। विष्टका साथै नयराज पन्त,  ज्ञानमणि नेपाल, धनब्रज बज्राचार्य आदि उनका स्रोतव्यक्ति बने। रामनिवास पाण्डेले त्रिविमा पढाउन बोलाउँदा उनलाई वित्यास पर्‍यो। उनले भनेछन्, 'मैले अहिलेसम्म कसैलाई क पनि पढाएको छैन, एमए कसरी पढाउने ?'
पूर्वप्रधानमन्त्री भट्टराईको जोडबलमा प्राज्ञ भएको १८ महिनामै नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट 'राजकीय' झिकियो, नामपाटी, पर्खाल र भित्तामा कालो पोतियो। उनले स्वाभिमानपूर्वक राजीनामा दिए। त्यसपछि त्रिभुवन विश्वविद्यालयमा संस्कृति विषयको  प्राध्यापकीय कर्मबाट पनि अवकाश पाए उनले। अहिले नेपाल संस्कृत विश्वविद्यालयको नयाँ जिम्मेवारीमा छन्। यसलाई उनले जागिर नभएर नेपाली संस्कृति, नेपाल राष्ट्र र राष्ट्रियताको विकासका निम्ति काम गर्ने अवसरका रूपमा लिएका छन्।
राजधानीमा डेरा जमाए पनि गाउँमा जगमानको खेतीपाती उस्तै छ। आमा बितेपछि घरमा ढोका लगायो, जग्गा बाँझो पल्टियो भन्लान् भन्ने लोकलाजले घाटा सहेर पनि बाली लगाइरहेका छन्। गोरु पाल्न दिएका छन्। गाउँमा दुइटा घर र दुइटा धन्सार छन्।  एउटा धन्सारमा बाहुनलाई राखेका छन् भने अर्को धन्सारमा दमाई। गुरुङ, बाहुन र दमाईको आँगन एउटै हो। उनी प्रत्येक दसैँमा घर पुग्छन् र कोटमौलो पूजा गर्छन्।
जगमानको विद्वताको परख गर्दै उनका बारेमा ज्ञानगुन प्रकाशनले तीन शृंखला निकालेको छ। त्यसमा कसैले उनलाई ज्ञानका लहरा भनेका छन् त कसैले आदर्श प्राज्ञ। धर्म, दर्शन, संस्कृति, राष्ट्र र राष्ट्रियतामा स्वनिर्मित आधिकारकि व्यक्तित्व छ उनको। ज्यो तिषशास्त्रमा स्नातक र स्नातकोत्तर प्रमाणपत्रबिनै उनले भारतको कोलकातास्थित विश्व ज्योतिष विद्यापीठबाट 'पश्चिम नेपालको गण्डकी प्रदेशका गुरुङहरूमा प्रचलित चिनियाँ-तिब्बती ज्योतिषशास्त्र' विषयमा विद्यावारििध उपाधि लिएका छन्।
देश-दुनियाँको भविष्य बताउने जगमान आफ्नै ग्रहदशाका बारेमा बेखबर छैनन्। समयमा पढाइ पूरा नहुने, योग्यता र क्षमता अनुसार पद नपाउने ग्रहदशामा गुजि्रएका उनको जन्मकुण्डलीले भदौ ०७२ पछि सरकारी प्रकोप, दैवी प्रकोप या नचाहिँदा आक्षेप झे ल्नुपर्ने देखाएको छ। भन्छन्, "आफ्ना बारेमा मैले नजानेको केही छैन। कुलदेवता र पितृको आशीर्वादका बाबजुद ७५ वर्षभन्दा उँभो लाग्ने देखेको छैन।" सात वर्ष पर्खौं, आफ्नै फलादेश कति मिल्छ गुरुङ गुरुलाई !
प्रकाशित: कार्तिक २३, २०७१

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’