पाङ्चे हाकिम

 - राजकुमार बानियाँ

 सगरमाथा क्षेत्रमा हिउँचितुवाको जैविक अस्तित्व छ कि छैन ? ४० वर्ष लामो कौतूहललाई किनारा लगाइदिए, नेपाली जीव वैज्ञानिक सोम आलेले । अमेरिकाको सिकागोस्थित इलिनोइस विश्वविद्यालयको पीएचडी रिसर्चका क्रममा चार हजार मिटर माथिका उच्च हिमाली खर्कहरूमा महिनौँ  टेन्ट टाँगेर गरिएको त्यो खोजले अहिले पनि रोमाञ्चित बनाउँछ उनलाई । 
 
सन् २००४ अक्टोबर २४ मा सोमले सगरमाथा क्षेत्रमा खिचेको हिउँचितुवाको फोटो भाइरल भयो । सीएनएनले प्रमुखता साथ समाचार दियो– ‘स्नो लियोपार्डस् रिटर्न टु माउन्ट एभरेस्ट फर द फस्र्ट टाइम इन फोर्टी इयर्स ।’ न्युयोर्क टाइम्स, नेचर डटकमलगायत ६० मिडियामा एक महिनासम्म छाए सोम । जीवनका २२ वर्ष दुर्लभ वन्यजन्तु हिउँचितुवाको अध्ययन, अनुसन्धान र संरक्षणमा बिताएका सोम त्यसलाई आफ्नो करिअरकै ‘टर्निङ प्वाइन्ट’ मान्छन् । 
 
अलेक्जेन्डर फ्लेमिङलगायत जीव वैज्ञानिकले खुम्बु क्षेत्रमा सन् १९६० को दशकमै लोप भइसकेको बताएको हिउँचितुवाको सगरमाथा राष्ट्रिय निकुञ्ज, स्थानीयले वास्ता गरेका थिएनन् । कतिसम्म भने उनलाई त्यहाँ पठाउने प्रल्हाद योञ्जन र चन्द्र गुरुङले समेत पत्याएका थिएनन् । 
 
त्यसो त पाइतालाका डोब र खोस्रिएका आधारमा सोमलाई लागिसकेको थियो– यहाँ पक्कै हिउँचितुवा छ । ‘त्यो दिन बिहान फोर्चेदेखि तल डाँफे, मुनाल एक्कासि आत्तिएर कराए,’ उनी सुनाउँछन्, ‘लौ हिउँचितुवा आयो भनेर मैले चार सय एमएमको क्यामरा सोझ्याइहालें ।’
 
 नभन्दै भेटियो, शेर्पा भाषामा सावाँ या सेमु भनिने हिउँचितुवा । ‘साइन’लाई साइन्सले मात्र पत्याउँथ्यो, फोटोलाई दुनियाँले पत्यायो । सन् १९६० ताका निकुञ्ज बनिसकेको थिएन । मुख्य आहारा झारल मासिएपछि तिब्बततिर लागेको रैथाने हिउँचितुवा निकुञ्ज बनेपछि नाङपाला पास गरेर फर्किएको कतिपयको अनुमान छ । ‘समुदायमा आधारित संरक्षणमा लागेको यतिका वर्षपछि मैले पहिलोपटक हिउँचितुवा देखेको थिएँ,’ उनी भन्छन्, ‘संसारका संरक्षणकर्मीहरूका लागि यो ज्यादै ठूलो खबर थियो भने मेरानिम्ति नेपाल आउने बाटो ।’
 
उनी अझै सम्झिन्छन्, आफ्नो टोलीका कमल थापा र लालु गुरुङलाई । तीन सदस्यीय टोली लुक्ला पुगेपछि १५ सदस्यीय बनेको थियो । ‘सीता एयरको जहाज लुक्ला अवतरण हुने बेला एयरहोस्टेजले अनौठो हाउभाउ देखाइन् । जहाजको बडी धावनमार्गमा गएर ड्याम्म ठोक्कियो, जहाज दुईपटक जम्प हानेर रोकियो, पछाडिको भागमा आगो लागिसकेछ,’ उनी सुनाउँछन्, ‘प्रहरीले झ्यालको सिसा फोडेर हामीलाई निकाले । पछिल्तिरको पाङ्ग्रा ननिस्किएर जहाज फोर्स ल्यान्डिङ भएको रहेछ ।’ 
 
त्यो पुनर्जन्म हिउँचितुवाकै निम्ति थियो भन्ने उनलाई लाग्छ । स्नो लियोपार्ड कन्जरभेन्सी (एसएलसी)का क्षेत्रीय संरक्षण निर्देशकसमेत रहेका सोम आफूलाई त्यस्तो ख्याति दिलाउने खुम्बु क्षेत्रमा बर्सेनि पुगेकै हुन्छन् । सेतो जिउमा कालो थोप्ला हुने हिउँचितुवा नेपालसहित भारत, चीन, पाकिस्तान, मंगोलिया आदि १२ मुलुकमा पाइन्छन् । नेपालमा तीन हजारदेखि ५ हजार ४ सय मिटरसम्म ताप्लेजुङदेखि दार्चुलासम्म चार सय हाराहारीमा हिउँचितुवा रहेको सरकारी अनुमान छ । 
 
हिउँचितुवा हिउँमा बस्ने वन्यजन्तु भने होइन । हिउँमा के खाएर बसोस् ? सोमको भनाइमा ट्रीलाइन (वृक्षरेखा) भन्दा माथि र स्नोलाइन (हिमरेखा) भन्दा तल यसको वासस्थान हो । यसलाई अल्पाइन इकोसिस्टमको सूचक प्रजाति मानिएको छ । हिउँचितुवाको पर्याप्त संख्याले स्वस्थ अल्पाइन इकोसिस्टम जनाउँछ । त्यसको अर्थ हिउँचितुवाको आहारा र घाँसे मैदान पर्याप्त हुनु हो । हिउँचितुवाको खाद्य जालो पिरामिड आकारमा हुन्छ । घाँंसे मैदान सबभन्दा तल । शाकाहारीहरू मध्यमा । त्यसमाथि मांसाहारीहरू । त्यसमाथि सिनो खाने एस्काभेन्जर । घाँसे मैदान, नाउर, घोरल अनि हिउँचितुवाको सन्तुलन नभए इकोसिस्टम नै खल्बलिन्छ । 
 
तनहुँको वरभन्ज्याङमा जन्मिएका ४७ वर्षीय सोमका पिता ब्रिटिस लाहुरे रहेछन् । एक्लो छोरा हुनुको लाभ पक्लिहवाको ब्रिटिस क्याम्पमा रहेको स्कुलमा पढ्न पाए । उनले एसएलसी दिएकै साल पक्लिहवा क्याम्प पोखरामा गाभियो । खासमा सोम डाक्टर बन्न चाहन्थे । अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि चिकित्साशास्त्र अध्ययन संस्थानमा ‘ट्राई’ पनि मारेका हुन् तर नामै निस्किएन । त्रिभुवन विश्वविद्यालयबाट सन् १९९१ मा जुलोजीमा एमएस्सी गर्दा उनले थेसिसका लागि फिल्ड ताके मनाङ । ‘हुन त बाग्मतीको पानीको प्रदूषणबारे गरे पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘तर झारा टार्न मन नलागेर नयाँ लोकेसन छनोट गरें ।’
 
थेसिस थियो– घाँसे मैदानमा चरनको प्रभाव । त्यही बेला हिउँचितुवा (स्थानीय भाषामा पाङ्चे) बारे थाहा पाए उनले । पाङ्चेले घोडा, याक, भेँडाबाख्रा, गाई आदि घरपालुवा जनावर खाइदिएर गाउँलेलाई सताउँथ्यो । स्थानीयले विष राखेर पाङ्जेलाई मारिदिन्थे । 
 
गाउँले र पाङ्चेबीचको द्वन्द्वका कारण राष्ट्रिय (त्यतिबेला श्री ५ महेन्द्र) प्रकृति संरक्षण कोषका सदस्यसचिव चन्द्रप्रसाद गुरुङले उनलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को मनाङस्थित कार्यालयको पहिलो संरक्षण अधिकृत बनाएर पठाए । उनले हिउँचितुवा जोगाउनुपर्छ भन्दा धन्न जाइलागेनन् । ‘पाङ्जेले नोक्सान गरिदिनेबित्तिकै छ्याङले मातेका गाउँले रिसाउँदै सीधै एक्यापको अफिसमा आउँथे पैसा चाहियो भनेर,’ उनी सम्झिन्छन्, ‘मैले कहाँबाट ल्याएर दिने पैसा ? अफिसले क्षतिपूर्ति शीर्षकमा बजेट छु्ट्याएको थिएन ।’ 
 
अरू सरकारी कर्मचारी मानमनितो खोज्थे । सोम भने जम्काभेट हुनासाथ बुबाआमा, दिदीबहिनी, दाजुभाइ आदि साइनो जोडिहाल्थे । कतै मान्छे मरे लास बोक्न जाने, बिहेमा जन्ती पनि गइदिने । अझ उनले स्थानीय तेन्जिङ गुरुङसँग मीत पनि लगाए । मितेरी गाउँ भनेपछि संरक्षणमा अलिकति सजिलो भयो । एक्यापका कर्मचारीले गाउँलेको सहयोग पनि पाए । यसरी समुदायमा आधारित संरक्षणको अवधारणा ल्याएका थिए चन्द्र गुरुङ, मिग्मा नोर्ब‘ शेर्पा र ब्रट कोबनले । 
 
मनाङको समुदाय केन्द्रित हिउँचितुवा संरक्षण संसारकै सफल मोडल मानिन्छ । बिस्तारै सोमले निस्याङ र नारफु भ्यालीमा सातवटा हिउँचितुवा संरक्षण समिति गठन गरी अक्षयकोष राख्ने व्यवस्था मिलाए । त्यसकै ब्याजबाट पशुधनको क्षतिपूर्ति दिन थालियो । गाउँलेले उनलाई ‘पाङ्चे हाकिम’ भन्न थाले । अहिले पनि उनको परिचय त्यही छ । सोम आले भनेर चिन्ने कमै छन् । 
 
सोमलाई मनाङ पठाउनुुको पनि पृष्ठभूमि रहेछ । सन् १९९१ तिर जापानी टोली हिउँचितुवाको वृत्तचित्र बनाउन भनेर मनाङको डाँडामा क्याम्प बनाएर महिनौँ बस्यो । हिउँचितुवालाई पल्काउन बाख्रा राखिदियो । सामान्यत दिउँसो सिकार गर्ने हिउँचितुवा झलमल्ल बत्ती बालिदिएपछि राति पनि आउन थाल्यो । आफैं सिकार खोज्ने हिउँचितुवाको बानी बिगारिदिएको भनेर समुदाय रिसायो । पाङ्चे  सकिने हल्ला पनि चल्यो । 
 
मनाङमा काम गर्दागर्दै सोम नर्वे गए र युनिभर्सिटी अफ ट्रोम्सोबाट इकोलोजीमा एमएस्सी गरे । मनाङको चारवर्षे अनुभव लिएर कास्कीको घान्द्रुकमा खटिए । त्यतिबेला नेपालमा भर्खर कार्यालय खोलेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)ले बोलाएको थियो उनलाई । तर उनले घान्द्रुकको माया मार्न सकेनन् । संरक्षण शिक्षा अभियानका निम्ति सोमले टीभी, डेक, क्यासेटसहित घुम्ती संरक्षण शिविर चलाए । घरदैलो गरे । सडक नाटक देखाए । रातभरि नाचगान गरेपछि आमा समूहले पैसा माग्थे । उनी बुंगो भएर फर्किन्थे । 
 
जागिर खाएर अरूले पैसा कमाउँछन्, उनलाई ऋण लाग्यो । अमेरिका जाँदासम्म ऋण तीन लाख पुगेछ । ‘अरूले पैसा जोगाए, अनुभव कमाएनन्,’ उनका अर्का सहकर्मी रोशन शेरचन भन्छन्, ‘उनले अनुभव कमाए, पैसा जोगाएनन् ।’ उनी सोमलाई उदात्त, ठट्यौला र सबैलाई एकैनास व्यवहार गर्न सक्ने व्यक्तिका रूपमा
लिन्छन् । घुम्ती शिविरको रसरंगका कारण सोमलाई ठिटीहरूले उत्तिकै पछ्याउँथे ।  कहिलेकाहीँ संरक्षण शिविर सकेर अर्को गाउँ जान लाग्दा उनीहरूलाई फर्काउनै मुस्किल पथ्र्योे । 
 
उनी घान्द्रुकमा एक्याप प्रमुख हुँदा तीनवटा लघु जलविद्युत् बन्यो । लघु जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जामा एक्याप अग्रणी संस्था हो । ‘संरक्षणका निम्ति मैले के गरें ? एकोहोरो कति भनिरहने ?’ उनी भन्छन्, ‘मैले गाउँलेलाई सिकाएको होइन, सिकेको मात्र हुँ ।’ 
 
सोम सन् २००२ मा अमेरिका गए बायोलोजिकल साइन्समा पीएचडी गर्न । क्यानडाको लेक हेड युनिभर्सिटीबाट पोस्ट डक्टरेट गरेपछि उनी इलिनोइस, मिचिगन र इन्डियाना विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । ‘पढ्न जाँदा मैले जागिर छाड्नुपर्‍यो, जागिर नभएकाले फर्कन सकिनँ,’ उनी भन्छन्, ‘मैले आठ वर्ष एक्यापलाई दिएँ । अमेरिका गएर हरायो भन्न पाइन्न ।’ 
 
पछिल्लो समय हिउँचितुवाको साइन सर्भे, क्यामरा ट्रयापिङ, डीएनए टेस्ट, रेडियो कलरलगायत कम्प्लेक्स मोडलिङको सुरुवात भइसकेको छ । ‘यसको संरक्षण र वैज्ञानिक अध्ययन अझै गहन हुनु आवश्यक छ,’ सोम भन्छन्, ‘अझ धेरै गर्न बाँकी छ ।’ 
 
पत्नी र छोराछोरीसहित अमेरिकाको सिकागोमा बस्ने सोम आले फर्फेक्ट फिल्डम्यान लाग्छन् । ब्याकप्याक र क्यामरासहित जुत्ताको फित्ता कसेर हिमाली भेगमा नहिँडेसम्म उनको धित मर्दैन । गाउँमा पुग्दा आमा समूह स्वागतम् भन्दै खादा ओढाउँछन्, छ्याङको सगुन टक्र्याउँछन् । यी फिल्ड इकोलोजिस्ट स्नो लियोपार्ड नेटवर्क सियाटलको संस्थापकका साथै ग्रान्ट रिभ्यू कमिटी युएसका सदस्य पनि हुन् । 
 
सोम आलेका रोलमोडल भने विख्यात प्राणीशास्त्री एवं लेखक जर्ज स्यालर हुन् । सन् १९७३ मा स्यालरले डोल्पा गएर हिउँचितुवाका बारेमा पहिलोचोटि अध्ययन गरेका थिए । नेसनल जोग्राफिक लाइफटाइम अवार्डप्राप्त स्यालरका द माउन्टेन गुरिल्ला, स्टोन अफ साइलेन्स, द लास्ट पान्डा, गोल्डेन स्याडो आदि पुस्तक चर्चित छन् । स्यालरसँग डोल्पा घुमेर पिटर म्याथिएसनले सन् १९७८ मा क्लासिक पुस्तक लेखे, ‘द स्नो लियोपार्ड ।’ 
 
पुस्तकमा अध्यात्म, शान्ति, ध्यान, पीडा, दु:ख, बुद्धिजम र शून्यका साथै मायावी हिउँचितुवालाई खोजिएको छ । ‘माउन्टेन मोनार्क’ किताब पढिरहेका बेला स्यालरलाई एकपटक घान्द्रुकमै भेटेछन् सोमले । स्यालरले भनेछन्, ‘द्याट्स माई बुक । आई एम जर्ज स्यालर ।’ उनलाई थकथक लाग्छ, त्यस्तो मान्छे भेट्दा पनि मैले किन सम्बन्ध अगाडि बढाउन सकिनँ ? डिनरमा किन बोलाइनँ ? कसैले सोमलाई सुनाएको रहेछ– नेपालीलाई हेला गर्छन् स्यालर । कतै त्यसैले त होइन ? 
 प्रकाशित: भाद्र १९, २०७२

http://kantipur.ekantipur.com/printedition/news/2015-09-05/20150905101424.html

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’