कुमार प्रधानलाई सम्झेर

‘नागाहरूले हामी ‘भारतीय होइनौँ’ भनेर चिच्याउँदा देशका नेताहरू कुदेर जान्छन् र भन्छन्, ‘तिमीहरू भारतीय हौ, हाम्रै दाजुभाइ हौ ।’ यता हामी भन्छौँ, ‘हामी भारतका हौँ, हाम्रो भाषालाई मान्यता दिलाएर हामीलाई भारतीयको रबर स्ट्याम्प बनाइदेऊ ।’ तर, उनीहरू हामीलाई विदेशी नै भन्छन् । यो नीति सुरुदेखि नै चलिआएको छ । हाम्रो भाषालाई विदेशी ठान्नु हाम्रो शरीरलाई, आत्मालाई विदेशी भन्नु हो ।’
भारतमा नेपाली भाषा संग्रामका ‘थिंक ट्यांक’ कुमार प्रधानले गान्तोक, सिक्किमको महासम्मेलन (१९९०)मा सभाध्यक्षका रूपमा दिएको मन्तव्य अद्यापि चर्चित छ । नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने संघर्षको उत्तरकाल थियो त्यो ।

खासमा सन् १९५६ मै उठेको माग हो, नेपाली भाषा आन्दोलन । त्यतिबेला नेपाली भाषाको हैसियत फ्रेन्च र पोर्चुगिज भाषाजस्तो थियो । भारतीय संविधानको आठौँ अनुसूचीले धारा ३४४ (१) र ३५४ सँग सम्बन्ध राख्छ । राष्ट्रभाषा हिन्दीलाई सघाउने भाषाको सूचीमा नेपाली भाषा समेट्नु नै त्यसको अधिकतम ध्येय थियो ।

कुनै पनि काममा दिलोज्यान दिएर लाग्ने प्रधान चुपचाप रहन सकेनन् । त्यसैले भारतीय लोकसभाका ७४ सांसदको समर्थनस्वरूप सन् १९७२ मा अखिल भारतीय नेपाली भाषा समिति गठनको अगुवाइ गरे । सन् १९८३ मा भेट्दा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाली भाषालाई मान्यता दिन संकोच मानेपछि उनले लेखे, अ हिस्ट्री अफ नेपाली लिट्रेचर (१९९१) ।

पुस्तकको तात्पर्य नेपाली भाषा कति समृद्ध छ भन्ने बुझाउनु थियो । त्यसले पहिलोपटक अंग्रेजी भाषामार्फत नेपाली साहित्यको परिचय अन्य भाषीमाझ राखिदियो । त्यतिबेला सिक्किमको राज्यस्तरको भाषा र दार्जीलिङको सरकारी भाषा नेपाली भइसकेको थियो ।

‘जातिगत कुरा गर्दा हाम्रो वेशभूषा टोपी या खुकुरी भनौँ, यी सबै बाहिरी चिह्न मात्र हुन् । सुत्ने बेलामा हामी टोपी थन्क्याउँछौँ, पोसाक खोल्छौँ, खुकुरी टाँग्छौँ तर भाषालाई कहिल्यै थन्क्याउन सक्दैनौँ । नेपाली भाषा हाम्रो आत्मा हो । साउतीको भाषा हो । रोदनको भाषा हो । भीमनाद गर्दा अभिव्यक्त हुने भाषा हो । सुखद सपना देख्दा हाँस्ने अनि जीवनमा ऐँठन पर्दा चिच्याउने भाषा हो ।’

नेपाली जातीयताको सशक्त आधार भाषालाई नै मान्छन् प्रधान । उनका लेख, मन्तव्य र गफ भाषिक विरासतकै वरिपरि छन् । त्यसो त उनको चिनारी यति मात्रै होइन । इतिहास, साहित्य, शिक्षा, पत्रकारिता, दर्शन, राजनीतिमा पनि उनको विराट व्यक्तित्व छचल्किएको छ । ७७ वर्षमै दैहिक यात्रा टुंग्याएका यिनै धुरन्धर पात्रको स्मृति ग्रन्थ हो, कुमार कीर्ति । यसमा उनका कृति र स्मृतिमाथि लेखिएका ४० थान गहकिला लेख छन् । यस अतिरिक्त उनकै कविता, लेख र वक्तव्य पनि समेटिएका छन् ।

उसो त प्रधान उत्तरऔपनिवेशिक, सबाल्टर्न र मूर्तिभञ्जक इतिहासकारका रूपमा चिनिएका छन् । उनको व्यापक प्रसिद्धि पाएको पुस्तक द गोर्खा कन्क्वेस्ट्स (१९८४) हो । अक्सफोर्ड प्रेसले छापेको यो पुस्तकलाई इतिहासकै विपठन मानिएको छ ।

यस हिसाबमा उनी सामाजिक इतिहासकार हुन् । कोलकाता विश्वविद्यालयबाट इतिहासमा विद्यावारिधि गरेका प्रधान के भन्छन् भने, इतिहास केवल घटना होइन, घटनाको व्याख्या इतिहासको धर्म हो । इतिहासले कहिले कैफियतको फुटनोट लेखिदिन्छ, किन भएको थियो ?

प्रधानका मानक ग्रन्थ भने द गोर्खा कन्क्वेस्ट्स् र अ हिस्ट्री अफ लिट्रेचर हुन् । पहिलो पहर (१९८२) पनि दार्जीलिङको नेपाली समाजकै इतिहास हो । ‘मेरो प्रेम साहित्यसँग भयो, बिहे इतिहाससँग ।’ आफ्ना ‘फ्यामिली फ्रेन्ड’ शंकर लामिछानेसँग प्रधानको स्वीकारोक्तिको मर्म के हो भने पहिलो प्रेम भए पनि साहित्यलाई जीवनको बाटो बनाउन सकेनन् । साहित्य समालोचनामा उनको प्रवीणताको प्रमाण चिह्न हो, अधीति केही (२००५) ।

सेन्ट रोबर्ट्स स्कुलका शिक्षक, गभर्मेन्ट कलेज र खरसाङ कलेजका प्रिन्सिपलका रूपमा सेवा गरेका प्रधानले अवकाशप्राप्त जीवन भने पत्रकारिताको धपेडीमा बिताए । खासमा इन्दिरा गान्धीले के नेपाली भाषामा खबरकागज छन् भनेर दिएको चुनौतीको जवाफ हुन्, सुनचरी र हिमालय दर्पण । कंग्रेस पार्टीको प्रान्त परिषद् र साहित्य अकादमीमा रहेका उनले साहित्यिक पत्रिका हाम्रो संसार, मालिंगो, हाम्रो पत्रिकाको समेत सम्पादन गरेका छन् । उनको अनुवादकलाको बेग्लै छाप छ ।

यी शिखरका बौद्धिकले ‘दार्जीलिङमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडान’ शीर्षकमा सोसल साइन्स बहा:मा दिएको व्याख्यान पनि महत्त्वपूर्ण छ । ग्रन्थमा इन्द्रबहादुर राई, मनप्रसाद सुब्बा, मोहन ठकुरी, कमल दीक्षित, अविनाश श्रेष्ठ, विन्दिया सुब्बा, प्रतापचन्द्र प्रधान, रेमिका थापालगायतका कृतिगत र स्मृतिगत दस्तावेज छन् ।

ग्रन्थको अंग्रेजी सेक्सन जोन व्हेल्प्टन, सुवास रञ्जन चक्रवर्ती, दशरथी सेन गुप्ता, मोल्लिका दस्तिदर, उगेन गोले, मुकुन्द गिरी, स्वत:सिद्ध सरकार, डा इर्साद गुलाम अहमद, राजेन मोक्तानजस्ता प्राज्ञका स्मृतिलेखका कारण ओजिलो बनेको छ । टिपिकल थ्वँ, अय्ला र छोय्ला चाख्न कीर्तिपुर र झोँछेका गल्ली नाप्ने, मंकी क्याप लगाउने, फोटोग्राफी र रिसेपीमा चाख राख्ने, गुहाटीमा ड्राइक्लिनर्स खोल्ने प्रधानको औतारी जीवन प्रसंगले ग्रन्थलाई रोचक पारिदिएको छ ।

प्रधानको जीवन–सोपानले एकपछि अर्को कौतूहल जगाउँछ । मनप्रसाद सुब्बाका शब्द सापटी लिने हो भने उनमा पर्फेक्सनिस्ट सोच छन् । पर्फेक्ट हुनु सम्भव छैन तर उनी पर्फेक्सनतर्फका अथक यात्री लाग्छन् । उनको भव्य व्यक्तित्व एउटा ग्रन्थमा अवश्य पनि अटाएको छैन । छुटेका कुरा छाड्ने हो भने यति सुन्दर साजसज्जाका साथ गहकिलो स्मृतिग्रन्थ सायदै निस्कन्छन् । समग्रमा, यो कुमार प्रधानलाई सम्झिने गतिलो जमर्को हो ।
कुमार कीर्ति
प्रमुख सम्पादक    :    मनप्रसाद सुब्बा
प्रकाशक    :    कुमार स्मारक गुठी
पृष्ठ    :    २८०
मूल्य    : ३५० भारु
प्रकाशित: चैत्र ३, २०७२


http://bit.ly/1nNzJV7

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’