लोकभाकाका लिजेन्ड


लोकभाकाका लिजेन्ड
जीवित भए/नभएको अस्पष्ट स्थितिमा झन्डै १२ वर्ष गुफा बसेछन् पुराना गायक पूर्ण नेपाली, ६०। ठिट्यौलीमै 'कलिलो तामालाई सोध रामालाई', '१६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ' जस्ता गीत गाएर जनजिब्रोमा बसेका उनलाई बुढ्यौलीले छोएकै रहेनछ, मृत्युको के कुरा !
७ चैतमा प्रज्ञा भवनमा जीवनमै पहिलोपल्ट एकल साँझ गरी उनले आफ्ना श्रोताहरूलाई पुराना अजम्बरी गीत मात्रै सुनाएनन्, राष्ट्रिय गीतहरूको एल्बमसमेत सुम्पिएका छन्, 'होसियार, नेपाल मेरो घर हो, नेपाली मेरो थर हो।'
जमानामै 'वर होइन पीपलको छायाँले, गाँठो पार्‍यो हजुरकै मायाले',  'ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी वनमाला', 'काली पनि देखेँ मैले गोरी पनि देखेँ, ससुराकी छोरी पाँचवटी देखेँ', 'काँ हो नानी घर तिम्रो, काँ हो माइती मावल, नानी त रैछौ हाम्रै दाँवल,' 'कैले माया पोखरा कैले माया खैरेनी, मायालु सम्झी कति रोइरनी' आदि दर्जनौँ गीतका संकलक र गायक अझै जवान रहेछन्।
त्यो एकल साँझपछि आफ्नो आयु बढेको आभास पाएका छन् उनले। "गोपाल योञ्जन र कल्याण शेरचनको निधनपछि म अलि सुस्ताएँ। कुनै दिन खोजी होला भन्दाभन्दै समय बितेको पत्तै पाइनँ," उनी सुनाउँछन्, "राजबाबु श्रेष्ठ, राजेशपायल राई, ज्योतिमान शेरचन, महेश शाक्य, ओम गुरुङले पम्फु नलगाएको भए अझै गुप्तबासमै हुन्थेँ होला। यति सफल कार्यक्रम होला भन्ने चिताएको पनि थिइनँ।"
साँझमा उनले लोकसंगीतका पारखीहरू मात्रै भेटेनन्। "म राष्ट्रिय झन्डा बोकेर बसेँ, मेरा चेलाहरू दलको फेर समातेर प्राज्ञ भइसकेछन्," उनी दिक्क मान्छन्, "उनीहरू हातमा भिजिटिङ् कार्ड समेत दिन हिच्किचाएर सीधै ओभरकोटमा हालिदिन्छन्।"
स्कुल, कलेजका कार्यक्रममा फिल्मका गीतमा नाचगान देख्दा उनी मर्माहत हुन्छन्। उनलाई लाग्छ, हामी शून्य भइसकेका छौँ। कुनै दिन धूलो पनि रहँदैनौँ। त्यसैले त अहिले नेपाली लोक भाका, नृत्य र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरणमा लागेका छन्। दिनभरि बालबालिकाहरूसँगै लुटुपुटु हुन्छन्। उनीहरूजस्तै हाँस्छन्, खेल्छन्, नाच्छन्, गाउँछन् । सेन्ट जेभियर्स स्कुल जावलाखेलमा संगीत शिक्षकका रूपमा उनका ३७ वसन्त बिदा भइसकेका छन्।
पोखराको बाटुलेचौरबाट सुरु हुन्छ उनको जीवनयात्रा। उनका बाबु चूडामणि कायस्थ रहरले भारतीय सेनामा भर्ती भएका रहेछन्। पछि दाजुले छुटाएर ल्याएपछि बिनापेन्सनका भूपू लाहुरे बनेका उनी नाचगानमा औधी सिपालु रहेछन्। दुई छोरा कलिलै उमेरमा परलोक भएपछि जन्मेछन् पूर्ण। विन्द्याबासिनी छेउका कालु बाहुनलाई चिना हेराएछन्। उनले भने अनुसार राजग्रह परेका पूर्णलाई लामाचौरकी ईश्वरभक्त जोगिनी आमालाई पञ्चदान गरेछन्। केही वर्षपछि जोगिनी आमालाई केही रकम दिएर घरमै फर्काएछन्। भन्छन्, "मलाई गाउँमा पूर्ण भनेर चिन्दैनन्, मेरो नामै जोगी हो।"
स्कुलमा साथीहरूले पढाइमा पुरस्कार पाउँदा पूर्ण टुलुटुलु हेररिहन्थे। पछि उनले नाचगानका पुरस्कार अरूका हातमा पर्नै दिएनन्। उनमा त्रिवेणी कला के भने, कम्मरमा मादल भिरेर बजाउने, गाउने अनि नाच्ने। २०२६ सालमा एसएलसी दिएपछि उनी जनकपुर चुरोट कारखानामा प्रस्तुति दिने कलाकार टोलीमा छानिएछन्। डेकोटा जहाज चढेर आएछन् काठमाडौँ। तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सारंगी योजना विभागमा जागिर पाएछन्। बंगाली उस्ताद रंगराव कादम्बरीलाई गुरु थापेछन्।
प्रज्ञा भवन उद्घाटनका बेला (असार ०२८) सरोजगोपालको संकलनमा 'ज्यानलाई पर्नु पीर पर्‍यो' बोलको गीत प्रस्तुत गर्दा राजा महेन्द्रले दुईपटक फर्माइस गरेको उनलाई अझै हेक्का छ। महेन्द्र पुलिस क्लबमा संगीत सिक्दा र सिकाउँदा गोपाल योञ्जनसँगको भेट उनको जीवनकै खुसीको घडी बन्यो। "गोपाल आफूछेउ मादल, तबला र गीतारमध्ये कुनै एउटा साज बजाउन लगाउँथे," उनी सम्झन्छन्, "आफूचाहिँ हार्मोनियम समात्थे।" उनी १० भन्दा बढी लोकबाजा र पाँचवटा आधुनिक बाजामा पारंगत छन् ।
गोपालको टोलीमा पूर्णसहित कल्याण शेरचन, क्षेत्र गुरुङ, नवीनकिशोर राई, बुद्धि परियारहरू रहेछन्। तिनले टिपेर गाउँबस्तीका भाकालाई गीत बनाइदिँदा रहेछन् गोपाल। "गोपाल दाइ वास्तवमा फिटरम्यान हुन्, गीतको संकलकमा हामीले कहिल्यै दाबी गरेनौँ," उनी भन्छन्, "हामी गीतको के कुरा ? दाइका निम्ति ज्यान पनि दिन तयार भयौँ।" त्यस क्रममा झन्डै ३०/३२ वटा सुन्दर गीत जन्मिएको उनको भनाइ छ।
हालसम्म उनका ४० वटा एल्बम आइसकेका छन्। गीतिनाटक (अपेरा)हरू त्यत्तिकै छन्। भजन, स्काउट, बाल र राष्ट्रिय गरी तीन सयभन्दा बढी गीत रेकर्डेड छन्। "एकेडेमीका तीन वर्ष काम गर्दा मैले दिनको एउटा गीत हरपि्रसाद रञ्जितकारलाई बुझाएको छु," उनी दुःखमनाउ गर्छन्, "स्वरलिपिसहितको त्यो फाइल कता हराइदिएछन्।"
गोपाल योञ्जनसँग उनले पाँचवटा फिल्ममा काम गरेका छन्। जीवनको अन्तिम क्षण गोपालले एपोलो अस्पताल इन्द्रप्रस्थ दिल्लीको बेड नम्बर २४०९ बाट पठाएको पत्र अन्तिम चिनोका रूपमा उनले जतनसाथ राखेका छन्। 'प्रिय पूर्ण भाइ, दया, प्रेम, ममता र करुणा नै इशु वचन हुन्। यसलाई मनन गर्नेहरू नै इशुमर्मी हुन्। मेरो साथ, मेरो साथी, मेरो भाइभन्दा बढी मसँग समय बितायौ। त्यसका लागि मेरो आफ्नै भाइ भन्नु गर्व ठान्दछु।'
रत्न रेकर्डिङ् संस्थानको लोकगीत प्रतियोगितामा लगातार ६ वर्ष प्रथम भएछन् पूर्ण। त्यसैले त शिक्षा मन्त्रालयले भानुभक्त मेमोरयिल स्कुल पानीपोखरीमा शिक्षकका रूपमा खटायो। प्रख्याति कस्तो भने उनलाई सेन्ट जेभियर्स स्कुलका फादर लेरी ब्रुक्सले समेत अफर गरे। प्रतियोगिताको के कुरा, उनी जहाँ गयो, त्यही स्कुल र संस्था सर्वप्रथम। कतिसम्म भने रोमका पोप जोन पोल द्वितीयबाट प्रशंसापत्र पाएका छन् उनले।
हुन त उनलाई कतिपयले 'पञ्चायतका कलाकार' पनि भन्दा रहेछन्। यसो भन्नुमा पनि केही दम छ। मुलुकका अनेक प्रख्यात संगीतज्ञहरूलाई उछिनेर पहिलो राजगुरु छानिएछन्, नारायणहिटी र कान्ति ईश्वरी विद्यालयमा राजपरविारका जुनियर सदस्यहरूलाई सारेगम सिकाएछन्। "अहिले पनि अचम्म लाग्छ, दरबारमा कसरी गयो मेरो नाम ?" उनी भन्छन्, "त्यसैले त राजग्रह परेको भन्ने ज्योतिषीलाई म मान्छु।"
उनले युवराज दीपेन्द्रलाई चार वर्ष, अधिराजकुमारी श्रुतिलाई १२ वर्ष, अधिराजकुमार नीराजनलाई तीन वर्ष, शाहजादा पारसलाई चार वर्ष, शाहजादी प्रेरणालाई चार वर्ष र शाहजादी पूजालाई चार वर्ष संगीत र नृत्य सिकाएछन्। दरबारयिा मानपदक पाउनु त सामान्य भइहाल्यो। "गोपाल योञ्जन र वीरेन्द्रको वंशनाश हुँदा सर्वस्व गएजस्तो लाग्यो," उनी द्रवित हुन्छन्, "राजा वीरेन्द्रले दाहिने हातले अँगालेर गरेको भलाकुसारी, रानी ऐश्वर्यबाट पाएको चाँदीको असर्फी र दीपेन्द्रले पोलेर खुवाएको आलु बिर्सिनसक्नुका घटना हुन्।"
त्यो गुप्तबासमा पनि त्यत्तिकै बसेनछन् पूर्ण। गन्धर्व समाजका पितापुर्खाको सारंगी, अरबाजो उनले बिर्सेनन्। पूर्वजका मन्त्र, पिंगुल, निर्गुण, मंगल, माहाल, राग, सारवि, कर्खा आदि संकलन गरी २ सय ८ स्वरलिपिसहित झन्डै पाँच सय पृष्ठको 'गन्धर्व संगीत र संस्कृति' नामक ग्रन्थ निकालेका छन् उनले।
गृहनगरी पोखरालाई इन्द्रलोक मान्छन् पूर्ण नेपाली। "इन्द्रलोकमा केही अप्सराहरू नृत्यका निम्ति सजिएर तयार हुन्छन् भने गन्धर्वहरू साजबाज लिएर वाद्यवादकका रूपमा उभिन्छन्," उनी अथ्र्याउँछन्, "त्यस्तै कुशल कलाकारले तयार गरेको रंगमञ्च हो पोखरा।" उनको पुस्तक मादलका ताल तथा बोलहरू प्रकाशोन्मुख छ।
२० वर्षको उमेरमा उनले मागी विवाह गरेछन्, १६ वर्षकी सत्यदेवीसँग। त्यतिबेला उनी आईजीपी सिल्ड फुटबल खेल्न काठमाडौँ आएका रहेछन्। वनकालीमा विवाह गरेर फेरि फुटबल खेल्न हान्निएछन् । रूपकराज शर्मा, अशोक केसी, धीरेन्द्र प्रधानका समकालीन राष्ट्रिय खेलाडी पूर्ण नेपालीले पुलिस क्लब, ब्वाइज युनियनमा रहेर फुटबल खेलेछन् ।
उनीजस्तै संगीत पारखी छन् सत्यदेवी। त्यसैले त हरेक गीत कम्पोज गरेपछि सबभन्दा पहिले पत्नीलाई सुनाउँछन्। उनले राम्रो छ भनेपछि मात्र गीत पास गर्छन्। उनका छोराछोरी भने चित्त नबुझे फोन आएको बहाना पारेर आ-आफ्नो कोठातिर पस्छन्।
प्रकाशित: चैत्र १६, २०७०

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’