म्याराथन हिरो

उमेर र स्वास्थ्य बिर्सेर दिनहुँ १४ किलोमिटरसम्म दौडन्छन् वैकुण्ठ। यी धावक हत्तपत्त साइकलसमेत चढ्दैनन्। "मलाई त साइकल चढ्दा अल्छी लाग्छ," उनी भन्छन्, "दौडनु मेरो ह्याबिट हो ।" ११ वर्षअगाडि मुटुको बाइपास सर्जरी गराएका उनी नियमित औषधी खाइरहेका छन्, डाक्टरले मनाही गरे पनि घामपानीमा दौडिरहेका छन्।
नेपाली एथ्लेटिक्समा वैकुण्ठ मानन्धर आफैँमा चम्किला किंवदन्ती हुन्। दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ लगातार तीन स्वर्णपदक, एसियाडमा चौथो स्थान र चार ओलम्पिक (क्यानडा, रुस, अमेरकिा र कोरयिा)मा उनको सहभागिता कीर्तिमानकै रूपमा छन्। अझ उनको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान दक्षिण एसियामा कसैले तोड्न सकेको छैन।
पाँच फिट पाँच इन्च उचाइका वैकुण्ठ २७ वर्षसम्म पनि अविजित छन्। नेपालमै जुनियर खेलाडीले त्यो कीर्तिमान नतोडी आफैँलाई मात्र सुधार गरेको उनलाई चित्त बुझेको छैन। र त, राष्ट्रिय खेलकुद परष्िाद्को वरष्िठ प्रशिक्षकबाट अवकाश लिएकै चार वर्ष बित्दा पनि उनको रंगशालामोह भंग भएको छैन। ३५ वर्षमाथिको ग्रुप भेट्रान्सलाई सिकाइरहेकै छन्।
साँचो कुरा त रंगशालाको औपचारकि उद्घाटन वैकुण्ठलगायत ६ खेलाडीले रबिन काटेर गरेका रहेछन्। तीमध्ये तीन जना धर्तीमै छैनन्। "राजा महेन्द्रको जोडबलमा दशरथ रंगशाला नाम रह्यो," उनी उतिबेलाको प्रसंग उप्काउँछन्, "अतिरथी नरशमशेरले खेलपुरुष धर्मभक्तको नाम
राख्न सकेनन्।"
त्यसो त वैकुण्ठ मानन्धर आफैँ पनि दशरथ रंगशालाका पक्षमा थिएनन्। यसै कारण घनिष्ट सम्बन्ध भयो, नरशमशेरसँग। त्यही मौकामा नरशमशेरलाई घोच्ने गरी पटक-पटक सोधेछन्, 'धर्मभक्तलाई किन र कसरी मार्नुभयो ?' एक दिन उनले घरमै डाकेछन् वैकुण्ठलाई। नरशमशेरको बैठकमा त धर्मभक्तको विशाल फोटो झुन्ड्याइएको। 'धर्मभक्त त मेरो गुरु पो हो हुन्,' नरशमशेरले भनेछन्, 'घरमा बँदेल काट्न त सहयोगी राखेको छु, मैले कसरी मारेँ हुँला ?'
काठमाडौँ, कालीमाटीमा शुक्ल चतुर्दशी र पूणिर्माको बीचमा जन्मेकाले उनको नाम वैकुण्ठ जुराएका रहेछन्, बाबुआमाले। आठ भाइमध्ये माहिला उनले ११-१२ वर्षको उमेरमै दौडन थालेका रहेछन्। परविारले थाहा पाउलान् भनेर कहिले स्कुल त कहिले सिनेमा हल जाने बहानामा लुकीलुकी, भागीभागी दौडमा भाग लिएछन् उनले। "दसैँमा किनेको एक जोर जुत्ता आठ-नौ दिनमै फाटिहाल्थ्यो," उनी सम्झन्छन्, "त्यसैले खाली खुट्टामै टुँडिखेलमा दौडन सिकाए गुरुले।"
वैकुण्ठले एकैपटक म्याराथन दौडेका भने होइनन्। आठ सय, १५ सय मिटर दौडिँदा जहिल्यै चौथो या पाँचौँ स्थान मात्र मिल्यो। गुरु लक्ष्मणविक्रम शाह र मधुशमशेर राणाले उनलाई १५ सय, पाँच हजार, १० हजार मिटर हुँदै बल्ल ४२ किलोमिटर, १ सय ९५ मिटर दूरीको म्याराथनमा उतारेका रहेछन्। उनलाई टक्कर दिन नसकेर कैयौँले दौड हापेपनि ।
उनका आदर्श व्यक्तित्व हुन्, मधुशमशेर। जे छ, त्यसमै खेल, सुनको जुत्ता लगाएर पदक जित्न सकिँदैन, खेल नै मेरो जीवन हो र जित्ने भीष्मप्रतिज्ञा गर्नुपर्छ। चार-पाँच वर्ष दौडेर नतिजा आउँदैन। खेल जीवनमा यस्तै गुरुमन्त्र पाए उनले।
त्यो जमानामा खुराकी या सुविधा कहाँ पाउनु ? 'डाइट'का नाममा रेडक्रसको पाउडर दूधसम्म पिएका हुन् उनले। "मलाई त डाइट भन्ने पनि थाहा थिएन। पहिले पहिले खाली पेटमै दौडन्थेँ," उनी सुनाउँछन्, "दुई-चार पिस बिस्कुट र चिया खाएर दौडँदा पनि नतिजामा अचम्मको सुधार आउँदो रहेछ।"
फिलिपिन्स एसियाडमा बल्ल नयाँ जुत्ता किनेछन्, १० डलरमा। "जुत्ता लगाएर दौडिँदा कस्तो कस्तो भयो, त्यसपछि जुत्ता फुकालेर कुदेँ," उनी भन्छन्, "साफ गेममा डोरा गन्जीमा साइनपेनले नेपाल लेखेर
पनि दौडिएँ।"
सन् १९७६ मा क्यानडाको मोन्टि्रयलमा भएको २२औँ ओलम्पिकमा एक्लै गएका रहेछन् वैकुण्ठ। त्यतिबेला ५०औँ स्थान सुरक्षित गरे उनले। "त्यतिबेला साथीको कोट मागेर लगाएको थिएँ, ब्यागमा कट्टु र गन्जीबाहेक केही थिएन," उनी सुनाउँछन्, "मलाई त रुमाल बोक्नुपर्छ भन्ने ज्ञान पनि थिएन, गन्जीले नै पुछ्थेँ पसिना।" अमेरकिी पत्रकारले हिप्पी, पि|mक स्टि्रट र गाँजाका बारेमा सोधेर हैरान पारेको र हाइवेमा बाटो काट्दा पक्राउ परेको घटना अझै पनि झलझली सम्भिmन्छन्।
दक्षण्िा एसियाली खेलकुद -साग)को सुरुआतका तीनै संस्करणमा स्वर्णपदक जिते उनले। सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा ३७ वर्षको उमेरमा म्याराथन-कीर्तिमान राखेपछि पत्रपत्रिकाले लेखेछन्, 'ओल्ड इज गोल्ड, जस्ट लाइक अ एटिन इयर्स ओल्ड।' 'मान्छे बूढो, उमेर १८ वर्ष' भनेर चर्चित भए । एकपटक साथीहरूसँग चिया खान गएछन् फुटपाथमा। भोलिपल्ट हेर्दा रंगशालाबाहिर चियापसलेसहित उनको ठूलो फोटो टाँगिएको रहेछ। खासमा ब्रोक बन्ड चियाको विज्ञापन रहेछ त्यो। चिया पसलेले उनलाई दुई प्याकेट चियापत्ती र दुई हजार नगद उपहार दियो।
त्यसो त चौथो सागमा उनको नतिजा सन्तोषजनक रहेन। २ घन्टा २१ मिनेटमा दूरी पूरा गरी काँस्य पदकमा चित्त बुझाउनुपर्यो। म्याराथन क्षमताका धावक नभएर खुट्टा दुखेका बेला पनि उनले नदौडी धर पाएनन्। त्यसपछि उनको सक्रिय खेल जीवन अन्त्य भयो। अहिले दौडाउने हो भने उनलाई कम्तीमा दिनको सय डलर चाहिन्छ।
केही समय यूएसएडमा समेत काम गरेका वैकुण्ठले १०-१२ वर्ष नेपाली सेनामा बिताएका रहेछन्। प्रथम ओलम्पियन गंगाबहादुर थापा र भूपेन्द्र सिलवालजस्ता उनका धावक साथी पनि सेनामै रहेछन्। एन्फा अध्यक्ष गणेश थापा पनि सेनामै काम गरेका फुटबलर हुन्।
भैरवनाथ गणमा आबद्ध वैकुण्ठले बर्सेनि किङ्स ब्यानर जितेको जित्यै गर्न थालेपछि कतिपय खेलाडीले आहि्रस गरे र तत्कालीन युवराज दीपेन्द्रलाई उकासे। "दीपेन्द्र फुटबल लिएर रंगशाला आइरहन्थे," उनी सम्भिmन्छन्, "उनकै हुकुम प्रमांगीमा मलगायत थुप्रै खेलाडीको जागिर खोसियो।"
नेपाली सेनामा सिपाहीबाट प्रवेश गरेर हबलदारसम्म भएका उनलाई आफैँले पाएको पदकको संख्या यकिन छैन। कतिसम्म भने गोलीगट्ठासहित दुई माइलको खड्रेससमेत जितेछन्। त्यसपछि दीपेन्द्रले नै भन्न थालेछन्, 'साफ गेम, एसियाड र ओलम्पिक खेलिसकेका नेसनल च्याम्पियनले
जित्नुुको के अर्थ ?'
त्यतिबेला सेनामा खेलाडीले जमदारभन्दा उपल्लो दर्जा पाएनन्। त्यसपछि ढाक्रे भएका उनलाई खेलकुद परष्िाद्का सदस्यसचिव शरदचन्द्र शाहले प्रशिक्षकमा अफर गरेछन्। आफ्नो २१ वर्षे प्रशिक्षणकालमा मुलुकले थुप्रै स्वर्णपदक हात पारेकामा उनलाई गर्व छ।
समग्रमा आफ्नो खेल जीवन सफल पाएका छन्, वैकुण्ठले। राजाकै पालामा गोरखा दक्षिणबाहु, युवा पुरस्कार, विख्यात त्रिशक्तिपट्ट र राज्याभिषेक पदक पाएकै हुन्। गणतन्त्रपछि खिलराज रेग्मी सरकारले २५ लाख रुपियाँ दियो। "त्यसको एक पैसा पनि खर्च गरेको छैन," उनी भन्छन्, "बरू बैंकले त्यसमा एक लाख रुपियाँ ब्याज थपिसक्यो।"
भारतले नाकाबन्दी लगाएका बेला लालकिल्लाको एक खेल उत्सवमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीका विरुद्ध कालो झन्डा देखाउने तयारी गर्दा उल्टै गान्धीले मञ्चमै बोलाएर अंकमाल गरेको घटना पनि उनले आफ्नो खेल जीवनकै पुरस्कारका रूपमा लिएका छन्।
वैकुण्ठ फुर्सदमा छन् अहिले। महिनामा दुई-चारपटक आफू पूर्वविद्यार्थी संघका अध्यक्षसमेत रहेको मरुहिटीस्थित शान्ति निकुञ्ज स्कुल पुग्छन्। स्कुललाई हरतरहले सघाउन लागिपर्छन्। स्कुलले रेडक्रस, स्काउटमार्फत अनुशासन, परोपकार र समाजसेवा सिकाएको उनले भुलेका छैनन्।
बिहान भजन सुन्न मन पराउने वैकुण्ठ साँझपख आफ्नो चोकको जमघटमा पुग्छन्। त्यहाँ उनकै उमेरका बूढाहरू कोही चियामा त कोही सियामा रमाइलो गफ गर्छन्। गफका मसला मोदीदेखि रोदीसम्म हुन्छ। भाषा पनि हिन्दीदेखि अंग्रेजीसम्म चल्छ। आईएसम्म पढेका उनले ०३६ सालमा विवाह गरे। दुई छोरा र दुई छोरी छन्। आफ्ना सन्तानलाई उनले दिने अर्ती यत्ति हो- सानै काम गर तर नेपालमै गर।
प्रकाशित: श्रावण २५, २०७१
टिप्पणियाँ
एक टिप्पणी भेजें