जेनेटिक मेकानिक


जेनेटिक मेकानिक
जहाँ मेसिन, त्यहाँ मेकानिकल इन्जिनियर भन्ने चल्तीको सूत्र कृष्णबहादुर नकर्मी (केबीएन), ६१, को हकमा अलिकति संशोधन गर्दा ठीक हुन्छ- जहाँ टर्बाइन, त्यहाँ केबीएन। हुन पनि नेपालको लघु जलविद्युत् क्षेत्रका 'पायोनियर' नकर्मी मुलुकभित्र र बाहिर टर्बाइन डिजाइनरका रूपमा परिचित छन्।
काठमाडौँको यट्खा, दमाई टोलमा जन्मेका नकर्मीको मेकानिकल इन्जिनियरङिमा जेनेटिक प्रभाव छ। उनको पुख्र्यौली पेसा नै फलामको काम हो। उनका बाबु रामबहादुर टेक्निसिएन रहेछन्। बाजे गणेशबहादुर कति मल्टिपल पर्सनालिटी भने जरसा'बका ड्राइभर, इलेक्टि्रसियन, काष्ठकर्मी, ज्यासल कालिगढ पजि। उनका काका अक्कलमानले पनि पेल्टन टर्बाइन बनाइसकेका छन्।
बच्चैदेखि बाजेसँगै हात कालो बनाए उनले । मेसिन छुने, चलाउने, पुछ्ने, कस्ने आदि काममा उनलाई कसैले रोकेन पनि। इन्जिनियरङि अझ मेकानिक्स शब्दमा उनको अनुराग क्रमश: बढ्दै गयो।
बुबाको जागिर टिम्बर कर्पोरेसन हेटौँडामा भएकाले उनको पठनपाठन त्यहीँकै भुटनदेवी स्कुलमा भयो। काठमाडौँको युवक मावि पकनाजोलबाट एसएलसी नगर्दै उनले घरेलुको साना तथा हस्तकला सेक्सनमा काम थालिसकेका रहेछन्।
कपडा बुन्ने तान बनाउनेव्यावहारकि ज्ञान त भइहाल्यो। सैद्धान्तिक ज्ञानका निम्ति पुगेछन्, बालाजु यन्त्रशाला। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरङि अध्ययन संस्थान अन्तर्गत रहेको बालाजु यन्त्रशाला मेकानिकल ट्रेनिङ सेन्टरबाट तीनवर्षे डिप्लोमा गरी घरेलुमै फर्किए। "यन्त्रशालामा म जहिल्यै बेस्ट ब्वाई," उनी सुनाउँछन्, "बिस्तारै मेसिनिङबाट डिजाइनिङतिर ढल्किएँ।"
केही समयपछि बालाजु यन्त्रशालामै ड्राफ्टम्यानको जागिर सुरु भयो उनको। स्वीस एसोसिएसन अफ टेक्निकल एसिस्टेन्स नेपाल (साता) सहयोगमा रहेको यन्त्रशालामै ३० वर्ष बित्यो। नकर्मीले इन्जिनियरङिमा थप डिग्री लिन चाहेछन्। तर, स्वीसहरूले सम्झाएछन्, 'काम गर्न सक्नेलाई डिग्री किन चाहियो ? काम गर्न नसके पीएचडी लिए पनि के अर्थ ?'
जसरी सम्झाए पनि एक साधारण नेपालीको छोरालाई जागिरमा बढुवा खाने रहर भइहाल्छ। उनीहरूले फेरि सम्झाए, 'तिमी त अहिले नै इन्जिनियरको काम गररिहेका छौ। इन्जिनियर पढेर पनि गर्ने काम यही हो।' उनले जागिर छाड्न पनि सकेनन्, स्वीसहरूले छाड्न पनि दिएनन्। पढाइभन्दा कामलाई महत्त्व दिए उनले।
नभन्दै ड्राफ्टम्यान, डिजाइनर, इन्जिनियर हुँदै सिनियर इन्जिनियरका रूपमा आफ्नो डिपार्टमेन्टको टेक्निकल इन्चार्ज पनि सम्हाले । "स्वीसहरू प्रमाणपत्रलाई मात्र महत्त्व दिँदैनन्, त्यसलाई मात्र महत्त्व दिएकाले त नेपाल यस्तो भयो," उनी भन्छन्, "स्वीसहरूले मलाई मन पराएको कामले नै हो। चाकरी र खुसामदको कला मसँग छैन।"
उनको अनुभव के छ भने अल्छीहरू डिजाइनर बन्न सक्दैनन्। जति बढी काम गर्‍यो, उति धेरै अनुभव पाइने हो। स्वीस रसिर्चर युली मेरले उनलाई मेकानिकल डिजाइनबाट रसिर्च सेक्सनमा तानिछन्। उनले पिठोमा भिटामिन मिसाउने फ्लोर फोर्टिफिकेसन डिभाइस बनाउने सफलता पाए। त्यसअघि उनले नुनमा आयोडिन मिसाउने साल्ट आयोडिनेसन डिभाइस बनाएका रहेछन्।
"भारतीय राजदूतले त्यतिबेला नेपालीले त्यस्तो डिभाइस बनाउन सक्छ भनेर विश्वासै गरेका थिएनन्," उनी सम्झन्छन्, "त्यो मैले कतै कपी एन्ड पेस्ट गरेको काम होइन।" उनलाई के लाग्छ भने विकास भनेको कहिल्यै नसिद्धिने काम हो। एक-दुई वर्षमै अपडेट गर्नु परहिाल्छ। उनले थ्रेसर, सेमी अटोमेटिक लुमलगायत थुप्रै मेसिन बनाएका छन्, आफ्नै बुतामा।
त्यसो त नेपालका लागि टर्बाइनको बाजेबराजु भनेको पिठो पिस्ने घट्ट नै हो। घट्ट माने मदानी। काठको मदानीलाई फलामले विस्थापित गरेर सुधारिएको घट्ट आयो। त्यो काम गरेका हुन् स्वीस नागरकि बाकमान र अक्कलमानले। बिस्तारै घट्ट मल्टिपर्पस पावर युनिटका रूपमा विकास भयो। त्यसपछि टर्बाइन बन्न थालेको नकर्मीको भनाइ छ।
अरूभन्दा फरक के भने नकर्मीले अरूले दिएका काम मात्र गरेनन्। उनको पछिल्लो टर्बाइन डिजाइन हो, क्रसफ्लो-४००। सय किलोवाटको टर्बाइनमा झुन्डिरहेको अवस्थामा यो निकै ठूलो फड्को हो। त्यसको बजार मूल्य १४ लाख रुपियाँ छ। त्यसको आयु १० देखि १४ वर्ष छ। टर्बाइनको मोडल नम्बर एकदेखि नै नकर्मीको संलग्नता छ। त्यसको सत्रौँ संस्करणसमेत आइसकेको छ अहिले। लघु जलविद्युत्का निम्ति टर्बाइन निर्माणमा नेपाल सक्षम रहेको उनको भनाइ छ। टर्बाइन बनाउने पारा भने ह्यान्डिक्राफ्ट टाइपको छ। मास प्रोडक्सनको स्थिति छैन। किनभने, यसको माग नै थोरै हुन्छ।
"हाम्रो टर्बाइनको सीमा के छ भने क्षमताको ७२ प्रतिशतभन्दा बढी काम लिन सकेको छैन," उनी भन्छन्, "मेरो ध्याउन्न ७८ देखि ८० सम्म पुर्‍याउने हो। बाहिरी मुलुकमा त्यसको अधिकतम क्षमता ८४ प्रतिशत छ।"
टर्बाइन निर्माणमा उनका गुरु देश हुन्, स्वीट्जरल्यान्ड, अस्टि्रया र नेदरल्यान्ड्स। सन् १९८८ तिर अस्टि्रया गएछन्, तालिमका लागि। गुरु तोकिएछन्, लाउसाने युनिभर्सिटीका प्रोफेसर बेनु बुखेल्त, एयरक्राफ्ट डिजाइनर। कहाँको एयरक्राफ्ट, कहाँको टर्बाइन ! तैपनि, त्यसलाई उनी जीवनकै महान् अवसर भन्न हिचकिचाउँदैनन्।
"म कति भाग्यशाली भने एक प्रोफेसर बराबर एक विद्यार्थी," उनी सम्झन्छन्, "उनले नियमित एक घन्टा लेक्चर दिन्थे। त्यस अनुसार काम गर्न मैले तीन दिनमा पनि भ्याइनँ।" त्यतिखेर उनले पाएको गुरुमन्त्र हो, कुनै पनि चीजको डिजाइन गर्दा प्रकृतिसँग एकाकार हुनु जरुरी छ। प्रकृतिको नियमविपरीत प्रविधि जान सक्दैन। मिलेर काम गर्दा नै सफलता हातमा आउँछ।
एकपटक दार्चुलाको लघु जलविद्युत्का निम्ति नेदरल्यान्ड्सबाट आएको गभर्नरले काम गरेन। उतै लगियो। नेदरल्यान्ड्सले ठीक छ भनेर फेरि यतै फिर्ता पठाइदियो। अझै फिट गर्न नसकेपछि उनी आफैँ त्यहाँ गए। "गुरुले मलाई चुप लागेर नबस्ने दीक्षा दिएका छन्। पर्फेक्ट नभएसम्म र सकुन्जेल काम गररिहने," उनी भन्छन्, "त्यसै कारण गुरुभन्दा अब्बल ठहरिने मौका पनि पाएको छु।"
अहिलेसम्म उनको आफ्नै वर्कसप छैन। तर, काम पर्दा उनी पाटनतिरका वर्कसपमा जान्छन्। काम गरुन्जेल त्यो उनकै हुन्छ। त्यसो त उनले पेन्सनबापत पाएको १२ लाख रुपियाँ खर्चेर काठमाडौँको इचंगुमा वर्कसपका निम्ति जग्गा पनि जोडेका हुन्। तर, सधैँको बिजुली र जनशक्तिको अभावले मन मारेर बसेका छन्।
नेपालमा अहिले २५ सयभन्दा बढी लघु जलविद्युत् छन्। तिनीहरूमध्ये दुई सयमा उनी आफैँले काम गरेका छन्। पहाड र दुर्गमका साथै हाई अल्टिच्युडमा। च्छो रोल्पा, तेङ्बोचे, नाम्चे, थामे आदिका अनुभव उनलाई एड्भेन्चरस लाग्छ।
उनको टर्बाइन टेक्नोलोजी नेपालमा मात्र सीमित छैन। सिंगापुर, मलेसिया, भुटानदेखि रुवान्डासम्म उनले टर्बाइनको काम गरेका छन्। भारत, बंगलादेश, फिलिपिन्समा पनि उनले लघु जलविद्युत्को अनुभव लिएका छन्। जागिरबाट अवकाश लिएपछि उनी घरमै कन्सलट्यान्टसी अफिस खोलेर लघु जलविद्युत्को सर्भे, डिजाइन, रसिर्च र डभलपमेन्ट वर्क गर्छन्।
खासमा नकर्मी शिक्षक बन्नुको दु:खले इन्जिनियरङितिर लागेका रहेछन्। तर, अहिले उनलाई पढाउने काम नै आइलागेको छ। उनी आफैँलाई सम्झाउँछन्, "मर्दा केही लैजान पाइँदैन। मलाई गुरुले सिकाए, मैले पनि अब अरूलाई सिकाउनु पर्‍यो।" त्यसैले हरेक साता बुधबार काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा रहेको टर्बाइन टेस्टिङ ल्याब पुग्छन्।
अहिलेका इन्जिनियरहरू डिजाइनमा कमजोर भएको उनको निष्कर्ष छ। "इन्जिनियरङिको भाषा भनेकै ड्रइङ हो," उनी भन्छन्, "मुखले भन्न नसकेको कुरा नक्साले भनिदिन्छ। मेरो इन्जिनियरङि बलियो भएको पनि डिजाइनले नै हो।"
उनका लागि कामै सोख बन्यो जीवनमा। खाने-पिउनेतिर ध्यानै दिन पाएनन्। अहिले त शाकाहारी बनाइसकेका छन् आफूलाई। कहिलेकाहीँ एक-दुई पेग मदिरा लिन्छन्। इन्जिनियर बनून् भन्ने उनको चाहनामा दुई छोरीले चित्त बुझाएनन्।
छोरीहरू आफ्नो काम देखेर तर्सिएजस्तो लाग्छ उनलाई। यो कस्तो काम हो भने हेर्ने मान्छेलाई नै दिक्क लाग्छ। "बहुलाहाजस्तो एकोहोरो काम गरेको गर्‍यै," उनी भन्छन्, "फलामलाई काम गराउन गाली गरेर पुग्दैन। उसको प्रकृति बुझ्नैपर्छ। बुझ्नलाई गहिरनिैपर्छ।" युवा उमेरमै क्यान्सरबाट पत्नी गुमाए उनले। कान्छी पत्नी भित्र्याएको आठ वर्ष मात्र भयो।
देशविदेशमा ख्याति कमाएका नकर्मीलाई पैसाको भने जहिल्यै अभाव भइरह्यो। पैसा नभएरै छोरीहरूले डाक्टरी पढ्न पाएनन् । "स्वीस मेसिनमा काम गरसिकेको मानिसलाई इन्डियन मेसिनमा काम गर्न झ्याउ लाग्छ," उनी स्वीकार्छन्, "आफ्नै कमजोरीले मुलुकमै चिनिन सकिएन। आफैँले आफैँलाई कसरी चिनाउने ?"
प्रकाशित: असार ८, २०७१

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’