एउटा योसोमोनो


बाकामोनो (मूर्ख), वाकामोनो (जवान) र योसोमोनो ( आउटसाइडर अर्थात् बाहिरिया) । अरूले नगरेका काम गर्ने सन्दर्भमा जापानी लोकोक्ति छ । मूर्खमा दुस्साहस, जवानमा समय अनि आउटसाइडरमा नयाँ नजरिया हुन्छ । त्यसैले परिवर्तन तिनकै हातमा छ ।
जापानी मूलका नेपाली नागरिक ताकासी मियाहारा, ८१, लाई पुराना मित्रहरू त्यस्तै ‘मूर्ख’ ठान्छन् । जापानी नागरिकता त्याग अनि नौला योजना सुनेर साथीभाइ गलल्ल हाँसेर भन्छन्, ‘मियाहारा, तिमीले नचाहिने काम गर्‍यौ । तिमी बाकामोनो हौ ।’ मित्रहरूको विशेषण उनलाई प्रिय लाग्छ । “नयाँ कामका लागि मूर्ख नै चाहिन्छ,” उनी भन्छन्, “सबै बाठो भए परिवर्तन आउँदैन ।”

पहिलोपटक नेपाली धर्ती टेक्दा २७ वर्षे जवान थिए मियाहारा । समय छेलोखेलो थियो । सन् २००३ मा नेपालको अंगीकृत नागरिक बनेका उनी अझै पनि आफूलाई पूरै नेपाली मान्दैनन् किनभने उनको बीउ त आउटसाइडर नै हो । २० वर्षको अन्तरालमा विदेशीले पाएको नेपाली नागरिकता त्यही थियो ।

मियाहाराको नेपाल–नाता ५३ वर्ष पुरानो छ । जापानकै एक कारखानामा काम गर्दागर्दै चार जना साथीसहित मुकुट हिमाल (६,८०० मिटर) चढ्न आइपुगेछन् पहिलोपटक । त्यतिबेलासम्म उनलाई हिमालका विषयमा थाहा थियो, नेपालका विषयमा थाहा थिएन ।

धौलागिरिको अँगालोमा हाँसेको मुकुट हिमाल चढ्ने पहिलो आरोहीको कीर्तिमान बनाए उनले । त्यसको दुई वर्षअघि दुई अमेरिकीले मुकुट आरोहण अधूरै छाडेका रहेछन् । हिमालयन एक्सपिडिसनका टोली नेता मियाहारासँग उत्तरी ध्रुवको आर्कटिक र दक्षिण ध्रुवको अन्टार्टिकाको अनुभव जो थियो ।

हिमाल चढिसकेपछि नेपालमै केही गर्न सकिन्छ भन्ने सोचाइ आयो उनमा । चिनारु कृष्णबहादुर बर्माले घरेलु उद्योग विकास विभाग त्रिपुरेश्वरमा लगिदिए ।

मियाहाराका तानाबाना थुपै्र थिए । तर, उमेर कच्चा थियो, अनुभव कम । त्यसैले चार वर्ष जापानमै अनुभव बटुले र सन् १९६६ मा घरेलु विभागको टेक्निकल एसिस्टेन्टको जिम्मेवारी सम्हाले । दुई वर्ष विशेषज्ञका रूपमा सेवा दिए ।

जापानको राजधानी टोकियोबाट दुई सय किलोमिटर टाढाको पहाडी गाउँ नागानोमा जन्मेका मियाहारा खासमा केमिकल र मेकानिकल इन्जिनियर हुन् । “तिनताका तीन सय गाडी थिए काठमाडौँमा, अहिले कति पुगिसक्यो,” मियाहारा भन्छन्, “तर, ५० वर्षमा पनि घरेलु उद्योग विभाग त्यस्तै छ ।”

तिनताका मियाहाराले दुई कुरा सोचेछन् । पर्यटनको विकास अनि विदेशी सहायतामा निर्भर नहुने अर्थतन्त्र । मियाहारा एकपटक सेनाको हेलिकप्टर चार्टर्ड गरेर खुम्बु पुगेछन् । उनलाई संसारकै सुन्दर स्थान लाग्यो । तत्कालै स्याङबोचेमा होटल खोल्ने महत्त्वाकांक्षी सपना देखिहाले । होटल मात्र नभएर त्यहाँ एयरपोर्ट बनाउने सपना पनि जोडे उनले ।

नभन्दै सन् १९७१ मा चार करोड रुपियाँको लागतमा होटल एभरेस्ट भ्यु (१३ हजार फिट) तयार भयो । तीन वर्ष लाग्यो १२ कोठे यो होटल बनाउन । लामोसाँघुबाट १४ दिन भरियालाई बोकाएर दिनको १० रुपियाँ ज्यालामा सामान लगे उनले । संसारकै अग्लो स्थानमा रहेको सुविधासम्पन्न होटलका रूपमा परिचित छ, एभरेस्ट भ्यु । यो कीर्तिमान सन् २००४ को गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लिपिबद्ध छ ।
मियाहारा सपना मात्रै देख्दैनन्, काम पनि थालिहाल्छन् । स्याङबोचेमा एयरपोर्ट बनाउँदा ७३ लाख रुपियाँ खर्च भयो उनको । प्रोत्साहनस्वरूप नेपाल सरकारले पाँच लाख दियो  । सगरमाथा राष्ट्रिय निकुञ्ज पनि उनकै सुझावमा बनेको हो । “त्यति काँचो उमेरमा मसँग त्यतिका पैसा कहाँ हुनु ? टोकियो युनिभर्सिटीका साथीहरूले सघाए,” उनी भन्छन्, “फेरि मैले पैसाका लागि बनाएको पनि होइन ।”

त्यही मेसोमा सन् १९६८ मा मियाहाराले नयाँ कम्पनी खोले, ट्रान्स हिमालयन टुर्स एन्ड ट्रेकिङ । त्यो नेपालकै पाँचौँ ट्राभल एजेन्सी हो । सगरमाथाको श्रीपेच लगाएको खुम्बु क्षेत्रको हिमाली पदयात्रा अवधारणा ल्याए उनले । तिनताका वार्षिक ४० हजार पर्यटक भित्रन्थे नेपाल । मियाहारामार्फत १ हजार ५ सय जापानी पर्यटक आउँथे । तत्कालीन शाही नेपाल वायु सेवा निगमको पिलाटस पोर्टर जहाजमा पर्यटक ओसारे उनले । केही वर्षमै त्यो जहाज दुर्घटना भइदियो ।

मियाहाराले लगानी अनुसार लाभ उठाउन सकेका छैनन् । २५ जना कामदार छन् । होटल लामो समय खाली नै हुन्छ । “१० वर्षदेखि नेपाल एयरलाइन्सको काठमाडौँ–ओशाका सीधा उडान बन्द छ, जापानी पर्यटक पनि छैनन्,” उनी सुनाउँछन्, “अहिले त सब व्यापार चौपट छ ।”

पर्यटन विकासका ‘पायोनियर’ मियाहाराको इमानदार छवि छ जापानमा । त्यसैले लगानीका लागि कहिल्यै समस्या भएन । उनको संगतले थुप्रै पर्यटन व्यवसायमा लागेका छन् । उनको चारतारे होटलको योजनामा प्रख्यात मित्सुविसी कम्पनीले साथ दियो । सन् १९८४ मा ललितपुरको कुपन्डोलमा होटल हिमालय खुल्यो । “त्यसमा मेरो जम्मा पाँच प्रतिशत सेयर हो,” उनी भन्छन्, “त्यो पनि अहिले त संस्थापकको हैसियत मात्र छ ।”

यतिमै विश्राम लिनेवाला छैनन् मियाहारा । पोखराको सराङकोटमा नयाँ होटल खोलेका छन्, अन्नपूर्ण भ्यु । ७० करोड रुपियाँ लगानीमा सय कोठाको चारतारे होटल एक वर्षभित्रै सञ्चालनमा आउनेछ । उनकै योजनामा पामे–सराङकोट अन्नपूर्ण केबल–कार निर्माणाधीन छ । “भन्न त मियाहारासाहेबको तीन होटल भन्छन् तर मेरो मात्र होइन,” उनी भन्छन्, “योजना मेरो हो, पैसा अरूको ।”

अहिलेसम्म मियाहारामार्फत दुई सय करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको छ । त्यसले आठ सय करोडको व्यापार गर्‍यो । उनले १० करोड रुपियाँ त कर नै तिरेका छन् सरकारलाई । विकासका थुप्रै खाका पनि कोरे । उनले सोचे– अब यसलाई कसरी प्रचारमा ल्याउने ? “एनजीओले देश बिगार्नेबाहेक केही गरेनन्,” उनी भन्छन्, “त्यसको विकल्प विकासका लागि राजनीति गर्ने नयाँ शक्ति नै हुन सक्थ्यो ।”

नभन्दै पहिलो संविधानसभा चुनावमा नेपाल राष्ट्रिय विकास पार्टी खोले उनले । प्रत्यक्षमा १२ र समानुपातिकमा ३० जना उठाए । विकासबाहेक कुनै वाद र तन्त्रमा आधारित नभएको उनको दलले निर्वाचन आयोगमा १० हजार हस्ताक्षरसहित दल दर्ता गरेको थियो । चुनावमा जम्मा ९ हजार ५ सय मात्र मत पायो । “रेडियो चुनाव चिह्नमा मनाङबाहेक जिल्लाको केही न केही मत पाएँ,” उनी भन्छन्, “अलिअलि भएको खल्तीको पैसा स्वाहा भयो, त्यसपछि चुनाव लड्ने आँट पनि आएन ।”

विश्वका ७० मुलुक घुमेका मियाहारा एक कुशल योजनाकार हुन् । आधा शताब्दीमा उनी नेपालका पचहत्तरै जिल्ला पुगेछन् । पूर्व कञ्चनजंघादेखि पश्चिम महेन्द्रनगरसम्म १ हजार १ सय दिन पैदल मार्च गरेर उनले २० वर्षपछिको समृद्ध नेपालको सपना देखेका छन् । र, त्यसैको पुस्तकाकार रूप हो, देशको भविष्यका लागि ।

मियाहाराका योजना आफ्नै ज्ञान र अनुभवमा आधारित छन् । उनले काठमाडौँको तनाव घटाउन राजधानी चितवन स्थानान्तरणको योजना ल्याएका छन् । पूर्व–पश्चिम रेलमार्ग, अन्य भूभागमा भूमिगत रेलमार्ग र उत्तर–दक्षिणका प्रमुख सहरलाई भारतीय रेलसँग जोड्ने योजना पनि छ । स्वप्नदर्शी मियाहाराको ध्याउन्न अब रेलमार्गको सर्भेमा छ ।

“सिद्धान्तले राजनीति होइन, दैनिक जीवनसँग आधारित नीतिलाई व्यवहारमा उतार्ने समय आएको छ,” उनी भन्छन्, “म कांग्रेस, म एमाले, म माओवादी भन्न छाडेर स्वतन्त्र रूपमा नसोचेसम्म परिवर्तन र विकास हुन सक्दैन ।”

नेपालसँग उनी यति घनिष्ट हुनुको कारण घरजम पनि हो । घरेलुमा काम गर्दा ‘डिभोर्सी’ मियाहाराको बालाजु यन्त्रशालाकी कर्मचारी निना राणासँग चिनजान भयो । रहँदा–बस्दा तिनैसँग माया बस्यो । १७ वर्ष कान्छी निनासँग घरसंसार बसाए । अहिले त छोरी सोनिया नै व्यावसायिक उत्तराधिकारी भइसकेकी छन् । “सिंगापुरको ब्रिटिस कम्पनीमा छोरीको कमाइ वार्षिक एक करोड थियो,” उनी भन्छन्, “अहिले मासिक २५ हजारमा मैले काम लगाइरहेको छु ।”

आरोहणमा अझै सोख छ मियाहाराको । ६० वर्षको उमेरमा सन् १९९५ मा सगरमाथा आरोहणमा गए । ८ हजार ७ सय ९३ मिटर उक्लेपछि उनका दुवै आँखा बन्द भए । “जताततै सेतो मात्र देखेँ । तीन जनाले झ्याइँकुटी पारेर शिविरमा ओराले,” उनी सुनाउँछन्, “बाँकी ५० मिटर चढ्न दुई घन्टा लाग्थ्यो होला ।”

५० वर्षमा पनि सुधार नभएको उनका तीन कुरा रहेछन्, अंग्रेजी, एकार्डियन र स्की । उनी एकार्डियन (हार्मोनियमजस्तो बाजा) दिनको एक घन्टा बजाउँछन् । तर, पारंगत कहिल्यै भएनन् । अंग्रेजी कनिकुथी मात्र छ । स्की कामचलाउ मात्र ।

योसोमोनोको आँखाले नेपालमा असीमित सम्भावना देखेका छन् । उनका बारेमा मियाहारा ताकासी नो च्यालेन्ज, थ्री होटल इन हिमालय आदि पुस्तक लेखिएका छन् । “मैले सोचेको कुनै काम सफल भएन,” उनी भन्छन्, “मेरो इच्छै बढ्ता भएर त होइन ?”
प्रकाशित: मंसिर १५, २०७२


http://bit.ly/1St5IUR

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अफबिट सौरभ

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

साठी वर्षे ‘जेन्टलम्यान’